रवि लामिछानेसहित तीनै जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरेको छ ।

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, टेलिभिजनमै कार्यरत युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरिएकाे हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हाे । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउनुपर्ने माग गर्दै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियाे ।

सरकारी वकिल कार्यालय प्रहरीले दिएको प्रतिवेदन अध्ययन गरेपछि तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

अदालतले अहिले तीनै जनासँग बयान लिन सुरु गरेकाे छ । एक नम्बर न्यायाधीश हेमन्त रावलको इजालासमा बयान सुरु भएकाे हाे ।

याेसँगै सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । बहस सुनिसकेपछि अदालतले के गर्ने भन्ने बारेमा फैसला गर्नेछ । अदालतले साधारण तारेखमा छोड्ने वा धरैटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने मध्ये कुनै एक आदेश दिन सक्नेछ ।

तपाईको प्रतिक्रिया