इटहरी : खोला पैनी अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सार्वजनिक सूचना जारी गरेको इटहरी उपमहानगरपालिका आफैंले भत्काउन सुरु गरेको छ ।
गएको असारमा ३५ दिने सूचना जारी गर्दै अनाधिकृत भौतिक संरचना भत्काउन भनेको उपमहानगरले त्यसपछि पटकपटक १५ दिने र ७ दिने सूचना जारी गरेको थियो ।
समयमा संरचना नभत्काएपछि उपमहानगर आफैंले भत्काउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
गएको मङ्गलबारबाट इटहरी ३ को तालतलैया क्षेत्रबाट टेङ्ग्रा खोलाको क्षेत्राधिकारभित्र रहेका अवैध संरचना भत्काउन सुरु गरेको हो ।
शनिबारसम्म करिब १ किलोमिटर बढी क्षेत्र सफा भइसकेको सफाई अभियानका संयोजक तथा वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिए ।
कसरी हुँदै छ खोला सफाई ?
टेङ्ग्रा खोला सफाई अभियानमा ठुलो संख्यामा जनशक्ति परिचालन गरिएको छ । अमिन र इञ्जिनियर सहितको २४ जनाको प्राविधिक टोली काममा खटिएका छन् । २ ग्रुपमा विभाजन भएको प्राविधिक टोलीले फिल्डमा आवश्यक समन्वयको काम गर्छ ।
कानुनी विषयमा कानुनी मामिला शाखाका कमल पोख्रेलले सहजीकरण गर्छन् भने प्रशासनिक शाखाको तर्फबाट सञ्जीव खड्काले आवश्यक समन्वयको काम गर्छन् ।
सफाई अभियानको संयोजकको रूपमा वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीलाई तोकिएको छ । ३६ जनाको नगर प्रहरीले बिहान, दिउँसो र बेलुका सुरक्षा दिने गरेको उपमहानगरले जनाएको छ ।
उपमहानगरका ३ स्काभेटर र २ वटा जेसिबीले टेङ्ग्रा खोलाको क्षेत्राधिकारभित्र रहेका संरचना भत्काउने र सफा गर्ने काम गर्छन् ।
खोलाको पानी बग्ने भागको ३५ फिट क्षेत्रमा रहेका रुख, बाँसका झ्याङ, अन्य झारपात भए त्यो पनि सफा गर्ने गरेको छ । अब क्रमशः वडा नं. २, ४ हुँदै मुख्य बजार क्षेत्रको टेङ्ग्रा पुलसम्म सफाई गरिने जनाइएको छ ।
यही गतिमा काम भए १५ देखि २० दिन भित्रमा टेङ्ग्रा पुलसम्म आइपुग्ने प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काले बताए । सोही क्रमले इटहरीको दक्षिणी सीमा जोडिएको स्थान सम्म सफाई गरिने उपमहानगरको योजना रहेको छ ।
भत्काउनुपर्ने संरचना कति छन् ?
खोला पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदल र सो कार्यदल अन्तर्गतको उपसमितिमा रहेका प्राविधिक टोलीले टेङ्ग्रा खोलाको मुहानदेखि दक्षिणी सीमासम्म नापजाँच सुरु गरेको थियो ।
नापजाँच र अध्ययनअनुसार ७४ वटा संरचना खोला मिचेर बनाइएको छ । यसमा १० वटा नक्सा पास भएका घरहरू छन् । बाँकी भने नक्सा पास नभएका भौतिक संरचना छन् ।
जसमध्ये २२ वटा आर. सी. सी. भवन छन् ।
यस्ता भवनमध्ये घर, सरकारी तथा सामुदायिक भवन, विद्यालय, चर्च समेत छन् । गाईवस्तुका गोठ, सुँगुर र बाख्राका खोर पनि छन् । कतिपय ठाउँमा खोला भित्रैबाट जग उठाएर भवन बनाइएको छ ।
यस्तो समस्या वडा नं. ४, ६ र ९ मा बढी रहेको छ । यी वडामा खोला मिचेर भौतिक संरचना धेरै बनाइएका छन् । यी संरचना भत्काउनुपर्ने उल्लेख छ ।
तालतलैयाको मुहानबाट जति दक्षिणतर्फ जान्छ, त्यति धेरै अतिक्रमण गरेको पाइन्छ । वडा नम्बर ३ मा गाईवस्तुका गोठ, सुँगुरका खोर बाख्राको खोर खोलाको क्षेत्राधिकार भित्र बनाइएका छन् भने बजार क्षेत्रमा भने घर भवनहरू नै निर्माण गरिएको छ ।
जुन मापदण्डअनुसार भत्काउनुपर्ने देखिएको छ ।
टेङ्ग्रा करिडोरको काम पनि सँगसँगै
उपमहानगरपालिकाले डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि टेङ्ग्रा कोरिडोरको योजना अगाडि सारेको छ । विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण गर्ने उपमहानगरले योजना बनाएको छ ।
तालतलैयाको मुहानदेखि दक्षिणी सीमा जोडिएको ठाउँसम्म करिब ९ किलोमिटर क्षेत्रमा कोरिडोर निर्माण हुनेछ ।
कोरिडोर निर्माणको काम पनि सँगै सुरु गरिएको छ । कोरिडोर बनाउन साइड ‘क्लियरेन्स’को काम पनि सँगै हुँदै छ । एकैपटक दुवै काम सँगै भइरहेको उपमहानगरको दाबी छ ।
पानी बग्ने खोलाको भागलाई ३५ फिट छुट्ट्याइएको छ । त्यहाँबाट दायाँ–बायाँ २०–२० फिट थप कोरिडोरका लागि सफा गर्ने काम पनि हुँदैछ । कोरिडोरका लागि वाल लगाउने जेसिबी र स्काभेटरले खन्दै पनि आएको छ ।
खोला सफाई र साइड ‘क्लियरेन्स’को काम सकिनसाथ विश्व बैङ्कको प्राविधिक टोलीले कोरिडोर क्षेत्रको निरीक्षण गर्ने प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काले जानकारी दिए ।
विश्व बैङ्कको प्राविधिकसहितको टोलीले अनुगमन गरी आवश्यक लागत ‘स्टिमेट’ गर्ने उनले बताए ।
कोरिडोर कुन मोडलमा बन्ने भन्ने विषय त्यही प्राविधिक टोलीको अनुगमन पश्चात निर्णय गरिने उनको भनाइ छ । यही आर्थिक वर्षमा यो काम सम्पन्न गर्ने लक्ष्यसाथ काम अगाडि बढाइएको उनले बताए ।