उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालमा उत्पादित सुपारी निर्यात गर्न कानूनी रुपमा प्रतिवन्ध नगरेको स्पष्ट पार्नुभएको छ । 

बुधवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचिव निरौलाले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा उत्पादित सुपारी भारत लगायतका देशमा निर्यात गर्दा सुपारीको डिइनए परीक्षण गरेर मात्रै निर्यात गर्न राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको निर्देशन भएकाले निर्यात हुन नसकेको बताउनु भयो । उहाँले समितिको निर्देशनअनुसार उद्योग मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भन्सार विभागलाई डिएनए परीक्षण भएको सुपारी मात्रै निर्यात गर्न निर्देशन दिएको भन्दै अन्य कुनै कानूनले निर्यातमा प्रतिवन्ध नलगाएको बताउनु भयो । उहाँले नेपालमा नै उत्पादित सुपारीको डिएनए परीक्षण गर्ने कुनै मापदण्ड वा निर्देशिका स्पष्ट नहुँदा मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघलाई सिफारिस गर्न समेत नसकेको बताउनु भयो । उहाँले समितिबाट नेपालमा नै उत्पादित सुपारीको उत्पत्ति प्रमाण पत्र जारी गरी निर्यात गर्ने निर्देशन भए मन्त्रालय तत्काल सिफारिस गर्न तयार रहेको बताउनु भयो । उहाँले सुपारीलाई बाहिर निर्यात गर्न अन्य वस्तु जस्तै दिने वा के गर्ने भन्ने विषयमा छलफल बहस आवश्यक रहेको बताउनु भयो । 

उहाँले कृषि मन्त्रालयबाट सुपारीको उत्पत्तिको प्रमाणपत्रसम्बन्धि राय आएमा नेपाल उद्योग वाणिज्य महासंघलाई उत्पतिको प्रमाणपत्र जारी गर्न लेखि पठाउन सकिने बताउनु भयो । उहाँले आयातमा नियन्त्रण गर्ने व्यवस्था लागू हुँदा स्वदेशमा समेत नेपालमा उत्पादन भएको सुपारी खपत हुन समेत नसक्ने बताउनु भयो ।