इटहरी/ सडक मार्गका हिसाबले हेर्ने हो भने इटहरी कोसी प्रदेशको केन्द्र हो। इटहरी हुँदै सवारीका साधनहरू पूर्व पश्चिम र उत्तर दक्षिण जान्छन्। २०३० साल तिर पूर्व पश्चिम सडक खण्ड बनेसँगै इटहरी शहरका रुपमा बिकास हुन थालेको हो। यसअघि इटहरीको बजार अहिलेको बजार क्षेत्र भन्दा टाढा थियो। इटहरी उप–महानगरमै पर्ने पकली पहिला गुल्जार थियो। 

तर पूर्व पश्चिम सडक खण्ड खण्ड बनेसँगै इटहरीमा बसोबास गर्न आउनेको संख्या दिन दिनै बढिरहेको छ। इटहरी उप महानगरपालिको तथ्यांक अनुसार इटहरीमा बर्षेनी २ हजार घर बनिरहेका छन्। घर बढेसँगै जनसंख्या पनि बढिरहेको छ। 

राष्ट्रिय जनगणना २०७८ अनुसार इटहरीमा ४०हजार २ सय ७ घर धुरी छन्। यहाँको जनसंख्या  १लाख ९८हजार ९८जना छ। २०६८ को जनगणनामा भने इटहरीमा ३३ हजार ७ सय ९४ घर धुरी थिए। इटहरीको जनसंख्या ६८सालमा १ लाख ४० हजार ५ सय १७ जना मात्रै थियो। 

Itahari nagarpalika

यो बाहेक इटहरीमा व्यापार गर्न अध्ययन गर्न र अन्य कामका लागि बसोबास गर्नेको संख्या झन्डै ३ लाख रहेको अनुमान छ। यो तथ्यांकले के बताउँछ भने इटहरीमा बसाइँ सराइको चाप अत्याधिक छ। किन इटहरीमा बसाई सराइको चा बढिहरेको छ त ? इटहरीका मेयर हेमकर्ण पौडेल भन्नुहुन्छ, बसाइका लागि उपयुक्त शहर भएर। 

इटहरीको बसाँइ सराइको चाप मधेस आन्दोलनबाट बढेको इटहरीको पूर्व मेयर द्वारीकलाल चौधरी बताउनुहुन्छ। पहाडबाट तराई बसाई सरेर झर्नेहरू इटहरीमा रोकिए। बिराटनगरलगायतका शहरमा मधेस आन्दोलनका कारण मानिसहरू जान चाहेनन्। उहाँले भन्नुभयो, मिक्स समुदाय भएका कारण इटहरीमा सुरक्षाका हिसाबले मानिसहरूको बसाई सराइको चाप बढेर गयो। 

इटहरीमा ३० को दशकमा पूर्व पश्चिम सडक बनेसँगै बसाइँ सरेर आउने क्रम शुरु भइसकेको थियो। २०४५ को भूकम्पमा मानवीय एवं भौतिक क्षतिपछि धेरै धरानबाट पनि सुरक्षित बसाइकालागि मानिसहरू इटहरी झरेको इटहरी बुझेकाहरु बताउँछन्।  

घर मात्रै बनेनन् व्यापार पनि बढ्यो 

इटहरीमा घर मात्रै बनेका छैनन् मात्रै होइन ठूल्ठूला होटल, सपिङ मल र डिपार्टमेन्ट स्टोरहरू बनिरहेका छन्। कोसी प्रदेशमै पहिलो पटक डिपार्टमेन्ट कल्चर इटहरीबाट शुरु भएको मानिन्छ । इटहरी पछिल्लो समय रेडिमेट व्यवसायको हबको रूपमा विकास भइरहेको छ। यहाँ होलसेल व्यापार हुन्छ। कुनै बेलाको धुलाबारीको होलसेल बजार इटहरी सरेको छ। धरान र विराटनगरको होलसेल बजार पनि इटहरीमा सरेको उद्योग वाणिज्य संघ इटहरीले जनाएको छ। 

 नेपाल सरकारले ०७१ साल मङ्सिर १६ गतेको निर्णयबाट इटहरी नगरपालिकालाई उप–महानगरपालिकामा स्तरोन्नति गरेको हो। नगरपालिकालाई उप–महानगरपालिका बनाउँदा इटहरी नगरपालिकामा खनार, पकली, एकम्बा र हाँसपोसासमेत गरी ४वटा तत्कालिन गाबिसहरु गाभिएका छन्।

cctv np

देशलाई जोड्ने यातायात सञ्जालसँग इटहरीमा होटेल व्यवसाय समेत फस्टाएको छ। इटहरीमा अहिले पाँच तारे होटेल खुलेको छ । 

इटहरीको सम्भाबना छ भन्ने देखेर इटहरीलाई बसोबासका रुपमा रोजेको हो। तेह्थुमबाट इटहरीमा बसाई सर्नुभएका राधाकृष्ण घिमिरले भन्नुभयो, भौतिक पूर्वाधारको बिकास पनि भइरहेको छ। सुरक्षाको अवस्था पनि राम्रो छ। बस्नका लागि इटहरी राम्रो लागेको छ। उहाँका अनुसार शिक्षा स्वास्थ्य जस्ता बिषयले पनि इटहरी उपयुक्त स्थलको रुपमा बिकास हुँदै आएको छ। 

बाटो घाटोको हिसाबले त सजिलो भई नै गयो धनकुटाबाट बसाँइ आउनुभएका पदमलाल गिरीले भन्नुभयो यहाँबाट जता जान पनि बाटोको हिसाबले सहज भएको छ। 

सुरक्षामा मजबुत इटहरी 

इटहरीमा नेपाली सेनाको पूर्वी पृतना छ। यस्तै इटहरीमै सशस्त्र प्रहरीको बराह बाहिनी पनि छ। इटहरीमै सुरक्षा निकायका प्रदेशका मुख्यालय हुँदा पनि सुरक्षाको प्रत्याभूति हुने ठानेर मानिसहरू इटहरीलाई बसोबासको उपयुक्त स्थलको रूपमा लिने गरेका छन्। 

यो बाहेक इटहरीमा इलाका प्रहरी कार्यालय छ। इलाका प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा अहिले प्रविधिका माध्यमबाट सुरक्षा गतिविधि बढाइएको छ। इटहरीका चोक चोकमा सिसी क्यामरा जडान गरिएको छ। यसका कारण पनि अपराध अनुसन्धानमा सहज भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो।

 police

उहाँले स्थानीय र उपमहानगरसँग मिलेर प्रहरीले यहाँको शान्ति सुरक्षाको अवस्था नागरिकले प्रत्याभूति हुने खालको काम भएको बताउनुभयो। उहाँका अनुसार अहिले इटहरी उप–महानगरको मुख्य चोकमा सिसी क्यामराबाट अनुगमन गर्ने काम भएको स्थानीय तहसँगको समन्वयमा सीसी क्यामरा राखेको छ। सीसी क्यामराका कारण अपराध अनुसन्धानमा सहज भएको छ।

पूर्वाधार बिस्तारले आकर्षण 

इटहरीको बाहिरी चक्रपथको काम प्रभावकारी बनाउन शुरु भईसकेको उप–महानगरले जनाएको छ। यसअघि ढल निकासमा सन्तोषजनक काम नभए पनि अहिले यसलाई तीव्रता दिइएको छ। वर्षौँदेखि अल्झिएको कोसी राजमार्गलाई ६ लेनको बनाउने काम अहिले अन्तिम चरणमा छ। फोहोर मैला व्यवस्थापनका लागि पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ। इटहरी भएर बग्ने ट्यांग्रा र शेहरा खोलालाई व्यवस्थापन गर्न नसक्दा डुबानको त्रास भने कायमै थियो तर यसपालिदेखि इटहरीलाई हिलो र धुलोमुक्त बनाउन काम शुरु भईसकेको नगरप्रमुख हेमकर्ण पौडेल बताउनुहुन्छ। उहाँले भन्नुभयो, पूर्वाधार बिकासको बिस्तारले पनि इटहरीलाई बसोबास गर्ने उपयुक्त स्थलको रूपमा मानिसहरूले लिने गरेका छन्। यो काममा उप–महानगर अझै लाग्ने छ।

Itahari

स्वास्थ्य र शिक्षा उप महानगरको प्राथमिकता 

इटहरीले बिभिन्न कोणबाट आफूलाई चिनाउने प्रयास गरिरहे पनि सार्थक हुन सकेको छैन। गुणस्तरीय स्वास्थ्य सेवाका लागि धरान, बिराटनगर अथवा काठमाण्डौ नै पुग्नुपर्ने बाध्यता नगर बासीलाई छ। 

यो बाध्यतालाई चिर्न इटहरी अस्पताललाई सुविधा सम्पन्न बनाउन काम शुरु भईसकेको उप–महानगरपालिकाको दाबी छ। खास गरी तराई आन्दोलनपछि इटहरीमा जनघनत्व ह्वात्तै बढेको हो । जनघनत्व बढेसँगै भएका सडक, पुलपुलेसा र अस्तव्यस्त बजारलाई व्यवस्थित बनाउनु मुख्य चुनौती हो। 

सडक यातायात र चौबाटोले बढाएको व्यापारलाई व्यवस्थित बनाई बिस्तार गर्नु पनि इटहरीको लागि चुनौती र अवसर हो। यही चुनौतीलाई अवसरको रुपमा बदल्न मुख्य चौक क्षेत्रमा आकाशे पुलको शिलान्यास र नगर बस सञ्चालनको लागि प्रक्रिया अघि बढिसकेको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिनुभयो।