विराटनगर । राष्ट्रिय सभा चुनावका लागि कोशीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रका चम्पादेवि कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरमा आज विहानै १० बजेर २१ मिनेटमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिटौलाले उम्मेदवारी दर्ता गरेका थिए । सिटौलाले साइत हेरेर उम्मेदवारी दर्ता गरेका थिए भने १२ बजेतिर माओवादी केन्द्रकी उम्मेदवार कार्कीले उम्मेदवार दर्ता गरेकी हुन् ।

सिटौलाको प्रस्तावकमा काँग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा काँग्रेसकै प्रदेशसभा सदस्य हिमाल कार्की छन् । यस्तै कार्कीको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र समर्थकमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य रामकुमार खत्री छन् ।

सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार कोशीमा हुन लागेको राष्ट्रियसभाको २ पदमध्ये अन्यतर्फ सिटौलाले र महिलातर्फ कार्कीले उम्मेदवारी दर्ता गरेका हुन् ।

नेकपा एमालेले महिलातर्फ रुक्मिणी कोइराला र अन्यमा परशुराम अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले १ बजेपछि उम्मेदवारी दर्ता गर्ने जनाएको छ ।