इटहरी/ इटहरीको ड्रिम प्रोजेक्टको रुपमा रहेको आकाशे पुल र आधुिनक सभाहल निर्माण हुने भएको छ। लामो समयदेखि निर्माण गर्ने भनेर चर्चामा रहेको आकाशे पुल र इटहरी सभा गृह निर्माणको प्रक्रिया अगाडि बढेको हो।
यसअघि इटहरीमा आकाशे पुल बन्ने भन्दै आहा इटहरीको रुपमा चर्चा भएको थियो। इटहरीको मुख्य बजार क्षेत्रमा यात्रुहरूलाई बाटो काट्न सजिलो बनाउन बढि भिडभाड हुने २ठाउँमा आकाशे पुल निर्माण गर्न ठेक्का सम्झौता भएको छ ।
इटहरीको मुख्य चौक देखी उत्तर तर्फ धरान रोडमा सङ्गीत चौकबाट रोड क्रस गरी आकेश कलेक्सन छेउ ओर्लने गरी आकाशे पुल निर्माण गरिने भएको हो । त्यस्तै मुख्य चौकबाट दक्षिण तर्फ गोल्डेन चौकमा अर्को आकाशे पुल निर्माण हुनेछ।
इटहरी उपमहानगरपालिकाले दुई स्थानमा आकाशे पुल निर्माण गर्न फागुन १८ गते रिजेन्सी विल्र्डससँग ठेक्का सम्झौता गरेको इन्जिनियर जीवन घिमिरेले जानकारी दिनुभयो।
ढिलै भएपनि अब भने इटहरीमा आकाशे पुल बन्ने भएको छ। तोकिएको समयमै निर्माण पुरा हुन सके करिब ६ वर्ष अघि पूर्व सांसद सर्वध्वज साँवाले ‘आहा इटहरी’ भन्दै इटहरीमा आकाशे पुल बनाउने भनेर देखाएको सपना पुरा हुनेछ।
ड्रिम प्रोजेक्ट : आधुनिक सभा हल
इटहरीमा व्यवस्थित सभा हल छैन । सभा हल नहुँदा इटहरी उप–महानगरपालिकाको नगर सभा पनि भाडाको हलमा गर्नुपर्ने बाध्यता छ। व्यवस्थित सभा हल बनाउनुपर्ने माग अघिल्लो कार्यकालबाट नै शुरु भएको हो।
अर्को तर्फ कोसी प्रदेशमै एकै पटक धेरै मानिसहरूको उपस्थितिमा सभा, सम्मेलन, गोष्ठि गर्ने व्यवस्थित सभा हल छैन। नाटक प्रदर्शनको हब बनेको इटहरीमा व्यवस्थित थिएटर छैन । सुविधा सम्पन्न थिएटर निर्माण गर्नुपर्ने रङ्गकर्मी तथा कलाकर्मीहरूको माग पनि तीव्र छ ।
इटहरी उपमहानगरले सबै क्षेत्रका मागलाई सम्बोधन गर्ने गरी ड्रिम प्रोजेक्टको रूपमा व्यवस्थित आधुनिक सभा हल निर्माण गर्ने भएको छ।
बहु प्रयोजनसहितको आधुनिक सभा हल निर्माण गर्न इटहरी उप–महानगरपालिकाले ठेक्का सम्झौता गरेको छ। इटहरी उपमहानगरपालिकाले भगवती जे एन्ड जे.भी कम्पनी दमकसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर जीवन घिमिरे जानकारी दिनुभयो।
इटहरी उपमहानगरपालिकाको वडा न. ५ स्थित काव्यवाटिकाको जग्गामा सभा हल निर्माण हुनेछ। एकैपटक ५ सय मानिस अट्ने क्षमता भएको आधुनिक सभा हल निर्माण हुनेछ। काव्य वाटिकाको जग्गामा १७ हजार ८०३ स्क्वायर फिट क्षेत्रफलमा ३ तलाको आधुनिक शैलीको सभा हल निर्माण हुने इन्जिनियर घिमिरले जानकारी दिनुभयो।
३ तलाको भवनमा तीन स्टेप स्लोप डिजाइनको सभा हल निर्माण हुनेछ । तिन स्टेप स्लोप भन्नाले सिनेमा हल जस्तै डिजाइनको हल हो । यस किसिमको सभा हल कतै नभएको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो।
यो सभा हललाई थिएटरको रूपमा प्रयोग गर्न सकिने इन्जिनियर घिमिरेले बताउनुभयो। निर्माण गर्दा नै साउन्ड एब्जर गर्ने सिस्टम जडान गरिएको हुनेछ । नाटक प्रदर्शन गर्दा आवश्यक पर्ने लाइट, साउन्ड अनुकूल बनाउने सकिने गरी निर्माण गरिने इन्जिनियर घिमिरेले जानकारी दिनुभयो।
योसँगै अन्य साना खाले २ वटा सेमिनार हल पनि निर्माण हुनेछ। सभा हलसँगै व्यवस्थित पार्किङ, फूल बगैँचाले सभागृह क्षेत्रलाई आकर्षक बनाउने इन्जिनियर घिमिरेको भनाई छ।
निर्माण सम्पन्न भएपछि कोसी प्रदेशमा गरिने ठुला सभा सम्मेलनहरू इटहरीमा गर्न सकिने उप–महानगरको भनाई छ। ठुला कार्यक्रमहरू आयोजना गर्न आउने मानिसहरूको चहलपहलले आर्थिक गतिविधि पनि बढ्ने उप–महानगरको अपेक्षा छ।
सभा हल निर्माणका लागि इस्टिमेट गरी उपमहानगरले ३४करोड ५४ लाख ८६ हजार ७९२ रुपैयाँको ठेक्का आह्वान गरेको थियो। आवेदन परेका मध्ये आगामी २०८३ असार २० गते सम्म निर्माण सम्पन्न गर्ने गरी २० करोड ९५ लाख ९५ हजार ९०८ रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको उप–महानगरले जनाएको छ।
नगर स्तरीय योजना अन्तर्गत निर्माण हुन लागेको इटहरी उप–महानगरपालिकाले जनाएको छ। इटहरीका लागि निकै चासो पूर्वक हेरिएका ठुला र ड्रिम प्रोजेक्टको रूपमा अगाडि सारिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो।
उप–महानगरको ड्रिम प्रोजेक्टको रूपमा रहेका आकाशे पुल र आधुनिक सभा हललाई चाँडै शिलान्यास गरिने नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो। यी योजनाहरूलाई तोकिएकै समयमा सम्पन्न गर्ने पनि प्रमुख पौडेलले बताउनुभयो।
आकाशे पुल र व्यवस्थित सभा हल इटहरीका लागि ठुलो आवश्यकताका योजना पनि हुन्। यी योजनाहरूलाई इटहरीवासीले लामो समय देखी माग गरिरहेका छन्। सहरको आवश्यकता देखिएका योजनाहरू निर्माण शुरु गरी तोकिएको समयमै सम्पन्न भए इटहरीवासीलाई भने उत्साहित बनाउने छ।