काठमाडौं । साउदी अरेबियामा  फेब्रअरी १९ देखि सुरु हुने वाफ वुमन्स च्याम्पियनसिप २०२४ का लागि खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्का, एन्फा महासचिव किरण राई लगायतले टोलीलाई बिदाइ गरे । नेपाली टोलीलाई आमन्त्रित टिमको रुपमा प्रतियोगिता खेल्न निम्ता आएको थियो र त्यसैलाई स्वीकार गर्दै नेपाल खेल्न जान लागेको हो । नेपालले साफ च्याम्पियनसिप, एसियन कप छनोट, ओलम्पिक छनोट जस्ता नियमित प्रतियोगिता खेल्दै आएको र यो फरक किसिमको प्रतियोगिता खेल्न लागेको एन्फा अध्यक्ष नेम्वाङले बताए । यसले महिला टिमलाई थप एक्सपोजर प्राप्त हुने उनले बताए । भारतमा लिग खेलेर आएका खेलाडी र फ्रेन्च लिग खेलिरहेका सावित्रा भण्डारी टिममा हुँदा त्यसले अझ फाइदा पुग्ने नेम्वाङले बताए ।