काठमाडौं । काठमाडौं महानगरपालिकाले संकलित कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरेको छ । महानगरका अनुसार २७ नम्बर वडाबाट संकलन गरिएको करिब १४ टन कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ सुरू गरिएको हो । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरिएको महानगरले बताएको छ । घरेलु फोहोर दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी महानगरले २७ नम्बर वडाबाट सुरू गरिएको थियो । ५ हजार जनसंख्या रहेको २७ नम्बर वडमा १ हजार ४ सय घरधुरी छन् । जहाँबाट निस्कने कुहिने फोहोरको मात्रा दैनिक औसत ५ सय केजी छ । वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैयाँ महर्जन भन्छिन्, ‘एक हप्तामा जम्मा भएको फोहोरको एक पाइल बनाउँछौँ । एउटा पाइलमा करिब ३५ सय किलो कुहिने फोहोर हुन्छ । एक भाग कुहिने फोहोरमा एक भाग टोकोजाइ नामक व्याक्टेरिया मिसाउनु पर्छ । यसले फोहोरलाई गन्धरहित बनाउँछ । लिचेड निस्कन दिँदैन ।’ कुहिने फोहोरलाई एक हप्तामा एक पटक पल्टाएर कम्पोस्ट मल तयार गरिने उनले बताइन् । नकुहिने फोहोर बेच्न र पुनः प्रयोग गर्न थाल्नु भएको छ । फोहोर एकै ठाउँमा हुँदा चाहिँ मल बनाउन झन्झट, बिक्री पनि नहुने थियो । अब मल बनाउन पनि मिल्छ । बिक्री गर्न पनि मिल्छ । यसकारण संकलन हुने फोहोरको मात्रा नै घटेको छ । वडा नम्बर २७ ले फोहोर वर्गीकरण र ढुवानीका लागि निरन्तर निगरानी गरिरहेको छ । उत्पादकलाई वर्गीकरणका लागि प्रोत्साहन गर्ने, सचेतना वढाउने र सहभागी गराउने कामलाई निरन्तर सञ्चालन गरिरहेको छ ।