इटहरी/ इटहरीमा बच्चाको डाक्टर कहिले आउँछन् ? कुन बार ? कुन क्लिनिकमा ? इटहरीमा हाडजोर्निको राम्रो डाक्टर कहाँ, कहिले ? कस्को क्लिनिकमा आउँछन् ? अनि, महिलाको डाक्टर शनिबार आउँछन ? कि शुक्रबार ? यी प्रश्नहरुले, इटहरी नगरबासीलाई सँधै तनाव दिइरहन्छ। आफुलाई चाहिएको बिशेषज्ञ डाक्टर कुनदिन, कुन क्लिनिकमा आउँछन, खोज्दा खोज्दा पत्ता लगायो, नाम टिपायो अनि लाईन बस्यो ।

डाक्टरले दबाई दिन्छन्, अनि कि त बिराटनगर आउनु भन्छन्, या त धरान आउनु भन्छन् । त्यसपछि बिरामी लिएर धरान बिराटनगरको यात्रा शुरु हुन्छ । यो इटहरीबासीको लागि बाध्यता नै थियो र छ पनि ? नियमित रुपमा कुनै पनि बिशेषज्ञ डाक्टरहरु भेट्न नपाउँदाका दुःख हुन,यी सबै । 

इटहरीबासीले बषौँ देखि भोग्दै आएको यो समस्याबाट अहिले थोरै भएपनि राहत मिलेको छ। इटहरी अस्पतालमा नियमित रुपमा बिशेषज्ञ डाक्टरहरु राखेर सेवादिन शुरु गरेपछि इटहरीबासीलाई थोरै भएपनि राहत महसुस भएको छ। 

पछिल्लो एक बर्ष देखी इटहरी अस्पतालले विशेषज्ञ डाक्टरहरुलाई नियमति रुपमा अस्पतालमा राखेर स्वास्थ्य सेवाप्रदान गर्न थालेपछि इटहरीबासीले केही सहज महशुस गर्न थालेका छन् । 

इटहरी अस्पतालमा अहिले दैनिक रुपमा हाडजोर्नी, स्त्री रोग बिशेषज्ञ र बाल रोग बिशेषज्ञले बिरामीको उपचार गराईरहेका छन्। त्यसमा पनि एमबिबिएस डाक्टरले अन्य प्रकारका स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। 

हाडजोर्नी, स्त्री रोग विशेषज्ञ र बाल रोग बिशेषज्ञले नियमित रुपमा स्वास्थ्य सेवा दिईरहेको इटहरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट गुन्जन त्रितालले जानकारी दिनुभयो। 

‘हाडजोर्नी बिशेषज्ञ डाक्टरले बिहान १० बजे देखी ४ बजे सम्म, स्त्री रोग बिशेषज्ञ २जना महिला डाक्टर हुनुहुन्छ, एकजना बिहान १० देखी २ बजे सम्म र अर्का डाक्टर १०बजे देखी ४ बजे सम्म नै बसेर सेवा दिनुहुन्छ,’ मे.सु त्रितालले भन्नुभयो।

उहाँले ‘अर्का बाल रोग बिशेषज्ञ डाक्टरले पनि बिहान १० देखी ४ बजे सम्म नै सेवा दिनुहुन्छ । त्यसपछि अरु एमबिबिएस डाक्टरहरुले अन्य प्रकारका बिरामीलाई चेकजाँच गर्नुहुन्छ’ भन्नुभयो।

यो सँगै इटहरी अस्पतालमा मुटु रोग बिशेषज्ञ, मृगौला रोग बिशेषज्ञ डाक्टर ल्याएर सेवाबिस्तार गर्ने योजना रहेको मे.सु त्रितालले जानकारी दिनुभयो। उहाँले ‘मुटु र मृगौला रोग बिशेषज्ञ डाक्टरहरुलाई पनि ल्याएर सेवाविस्तार गर्ने तयारी भईरहेको छ, पार्किङ एरियाको ठाउँलाई व्यवस्थापन गरि कोठा मिलाउने काम भएपछि सेवा शुरु गर्ने तयारी गर्दैछौँ,’ भन्नुभयो।

इटहरी अस्पतालले सेवा बिस्तार गरेसँगै उपचारका लागि आउने बिरामीहरुको चाप बढ्न थालेको छ। पछिल्लो एक बर्ष यता नियमित रुपमा बिशेषज्ञ डाक्टरहरुले स्वास्थ्य चेकजाँच गर्न थालेपछि इटहरी अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको चाप बढेको हो। 

बिशेषज्ञ डाक्टरको सेवा लिन चाहनेहरु पनि इटहरी अस्पताल आउन थालेका छन्। सामान्य प्रकृतिका स्वास्थ्य समस्या भएका बिरामीहरुको ठुलो भिड नै लाग्न थालेको छ। ज्वरो आउने, रुघाखोकी, पखाला लाग्ने, पेट दुख्ने, ढाड दुख्ने जस्ता सामान्य प्रकृतिका स्वास्थ्य सेवा लिन पनि बजारका नीजि क्लिनिकहरुमा जानुपर्ने बाध्यता अहिले अन्त्य भएको छ।

ल्याब परिक्षणमा उस्तै छ भिड 

इटहरी अस्पतालमा परिक्षणका लागि आउने बिरामीको संख्या अत्याधिक रुपले बढेको अस्पताल प्रशासनले बताएको छ। बिशेष गरी रगतजाँच गर्ने, एक्स रे गर्ने, भिडियो एक्स रे, इसिजी गर्ने बिरामीहरुको संख्या बढेको छ।

नियमित स्वास्थ्य समस्या लिएर आउने बिरामीको रोग पहिचानका लागि गरिने रगत, पिसाब, एक्स रे, भिडियो एक्स रे का भन्दा बाहिर सुगर जाँच, भिटामिन डि, थाईराईडलगायतको चेकजाँच गर्न इटहरी अस्पताल पुग्ने गरेका छन्। 

सुगर प्रेसरका बिरामीलाई इटहरी अस्पतालको रगत जाँच सेवाले सहज बनाईदिएको छ। सुगरका बिरामीहरु नियमित गर्नुपर्ने रगत जाँचका लागि इटहरी अस्पतालको ल्याबमा पुग्ने गरेका छन्। 

अस्पताल प्रशासनले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको मंसिर सम्मको तथ्यांक अनुसार १२, हजार ७ सय ६९ जनाले सुगर जाँच गराएका छन्। ५ हजार ६सय ८९ जनाले थाईराईड जाँच गराएका छन् भने २ हजार ८सय ६१ जनाले भिटामिन डिको जाँच गराएका छन्। बिशेष गरी सुगर प्रेसर भएका जेष्ठ नागरिकहरु सहज सेवाका र जाँचका लागि इटहरी अस्पताल जाने गरेका छन्। 

इटहरी ९का लालु बस्नेतले नियमित रुपमा रगत जाँच गर्नका लागि आउने गरेको बताउनुभयो। पहिले बजारको क्लिनिकमा जाने गरेकोमा अहिले इटहरी अस्पतालमा नै सजिलो भएकाले इटहरी अस्पताल नै आउने गरेको बस्नेतको भनाई छ।

बीमाका कारण पनि धेरै व्यक्तिहरु स्वास्थ्य परिक्षणका लागि आउने गरेको इटहरी अस्पतालको प्रशासन शाखाकी पूजा भट्टराईले जानकारी दिनुभयो। ‘बीमाबाट हुने भएकाले धेरै व्यक्तिहरु २÷३ महिनामा बिरामी नभएपनि बिभिन्न स्वास्थ्य परिक्षणका लागि आउने गर्नुभएको छ, अरु नियमित स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या त अझ धेरै छ’ भट्टराईले भन्नुभयो।

बिरामीहरुको चाप बढेसँगै इटहरी अस्पतालले टोकन सिस्टम लगाएको छ। स्वास्थ्य जाँचकालागि टोकन सिस्टम लगाईएको र टोकनका आधारमा पूर्जा बनाउने र सोही आधारमा ओपिडीमा डाक्टरसँग भेट गर्ने व्यवस्था मिलाईएको भट्टराईले बताउनुभयो।

टोकन लिएका बिरामीलाई बस्नका लागि कुर्सीको व्यवस्थापन गरिएको अस्पतालस्थित प्रशासन शाखाकी पूजा भट्टराईले जानकारी दिनुभयो।

कुनैपनि बिरामी इटहरी अस्पताल आईसकेपछि चेकजाँच, स्वास्थ्य परिक्षणका लागि कुनै अप्ठ्यारो तथा झन्झट व्यवहोर्नु नपर्ने भट्टराईको भनाई छ। कुनै बिरामीलाई केही समस्या भए सुरक्षामा खटिएका सुरक्षा गार्डहरुले पनि सहजिकरण गरिदिने गरेको भट्टराईको भनाई छ।

स्वास्थ्य उपचारसँगै बिरामीले डाक्टरले लेखिदिए अनुसारका औषधीहरु पनि सहज रुपमा उपलब्ध गराउने गरेको अस्पतालले दाबी गरेको छ। बिशेष गरी वीमा वापत प्राप्त गर्ने सुविधाका औषधीहरु सहज रुपमा बितरण गर्ने गरेको अस्पतालको भनाईं छ। औषधी बितरणमा कुनै समस्या नभएको अस्पताल प्रशासनले दावी गरेको छ। 

२४ घण्टा इमरजेन्सी

इटहरी अस्पतालले पछिल्लो एकबर्ष देखी २४ सै घण्टा इमजेन्सी सेवा प्रदान गरिरहेको छ। इमरजेन्सीमा ५ बेड मार्फत सेवा दिईरहेको अस्पताले जनाएको छ। एमविविएस डाक्टरको नेतृत्वमा इमरजेन्सी सेवा प्रदान गरिरहेको अस्पतालको भनाई छ। 

इमरजेन्सीमा आएका विरामीहरुलाई थप उपचार गर्नुपर्ने अवस्था आए वा ओपीडीमा आएका बिरामीलाई थप उपचार गर्नुपर्ने भएमा जनरल वार्डको व्यवस्था गरिएको छ। १५ वटा बेडमा विरामीलाई राखेर उपचार गर्दै आएको अस्पतालले जनाएको छ। आवश्यक सेवा सुविधासहितको जनरल वेड मार्फत बिरामीको उपचार गर्दै आएको अस्पतालको भनाई छ। 

नयाँ भवनमा थप सेवा बिस्तार गरिने  

इटहरी अस्पतालको हालको भवनबाट थप सेवा विस्तारका लागि समस्या भईरहेको अस्पतालका मे.सु त्रितालले बताउनुभयो। भवन सानो छ, पर्याप्त कोठाहरु छैनन्, चाहेर पनि थप सेवाविस्तार गर्न नसकिरहेको मे.सु त्रितालको भनाई छ। 

मेसु त्रितालले ‘हामीसँग भवन र कोठाको अभाव छ, चाहेर पनि थप सेवाविस्तार गर्न सकिरहेको छैनौ’ भन्दै ‘अव थप सेवा बिस्तारका लागि नयाँ भवन बनेर सञ्चालनमा आएपछि मात्रै थप सेवा बिस्तार गर्न सकिने अवस्था छ’ भन्नुभयो।

संघीय सरकारले दिएको बजेटबाट अस्पताल परिसरमै १५ बेडको नगर अस्पतालको भवन निर्माणधिन छ। समयमै सकिनुपर्ने भवन निर्माणमा ढिलाई हुँदा अस्पतालको सेवा बिस्तारमा समस्या देखिएको छ।

तर इटहरी उप–महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले अस्पतालको बन्दै गरेको भवन चाँडै सक्ने गरी काम भईरहेको बताउनुहुन्छ। अस्पतालको सेवालाई बिस्तार गर्न तयारी भईरहेको मेयर पौडेलले बताउनुभयो। इटहरी अस्पतालको स्तर उन्नतिका लागि सिटिस्क्यान र एमआरआई मेसिन थप गर्ने तयारी भईरहेको मेयर पौडेलले बताउनुभयो। त्यो सँगै केही समय अघि रोटरी क्लबले दिएको डाईलासिस मेसिनलाई सञ्चालनमा ल्याउने तयारी भईरहेको पनि मेयर पौडेलले जानकारी दिनुभयो। 

हिजो राजनीतिक र प्रशासनिक रुपमा ओझेलमा परेको इटहरी अस्पतालमा अहिले स्थानीय सरकारले गरेको लगानीको केही प्रतिफल देखा पर्न थालेको छ तर दीर्घकालिन रुपमा यहि रुपले अगाडि बढाउन भने अझै ठुलो आर्थिक श्रोतको आवश्यकता पर्छ। 

सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि स्थानीय सरकारले दीर्घकालिन आर्थिक श्रोतको व्यवस्थापन गर्नुपर्ने चुनौति देखिन्छ। प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै अस्पतालका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, दरबन्दीसहितको दक्षजनशक्ति र औजार उपकरणको व्यवस्थापन गर्नु अहिलेको मुख्य चुनौति देखिएको छ । यसका लागि स्थानीय सरकारले बुद्धिमत्तापूर्ण निर्णय गर्नुपर्ने खाँचो देखिन्छ।