रतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरको स्वायतत्ता समाप्त गरेसँगै विभिन्न प्रतिक्रिया आइरहेका छन् । नजर बन्दमा राखिएका जम्मू–कश्मीरका नेताहरु महबूबा मुफ्ती, सज्जाद लोन, उमर अब्दुल्लासहितका नेताहरु पक्राउ परेका छन् ।

केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कर्फ्यू लगाएको छ । कश्मीरी पण्डितहरुले सरकारको घोषणाको स्वागत गरेका छन् । तर मुस्लिम बाहुल्य राज्यका अरु क्षेत्रमा भने विरोधका स्वरहरु छन् । यसले जम्मू–कश्मीरमा हिंसा भड्किन सक्ने चिन्ता जताइएको छ ।

केही दिनदेखि जम्मू–कश्मिरलाई लिएर विभिन्न आशंका पैदा भएका थिए, जब सरकारले सुरक्षा सतर्कता जारी गरेको थियो । त्यसको ठोस रुप सोमबार थाहा भयो, जब मन्त्रीपरिषदको बैठकपछि राज्यसभामा गृह मन्त्री अमित शाहले जम्मू–कश्मीरलाई संविधान मार्फत प्राप्त विशेष राज्यको दर्जा समाप्त गर्ने घोषणा गरे ।

उनले राज्यसभामा संविधानको धारा ३७० अन्त्य भएको घोषणा गरे । यही धाराले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिएको थियो र परराष्ट्र, सुरक्षा तथा सञ्चार बाहेकका विषयमा राज्यबारे निर्णय लिनका लागि केन्द्र सरकारले राज्य सरकारसँग अनुमति लिनु पर्ने थियो ।

तर अब जम्मू–कश्मीर स्वायत्त राज्य नभई केन्द्र शासित प्रदेश बन्ने भएको छ । यस्तै जम्मू–कश्मीरलाई दुई भागमा बाँडिने प्रस्ताव गरिएको छ । जसमा बुद्धिस्ट बाहुल्य लद्दाख छुट्टै केन्द्र शासित प्रदेश बन्ने छ, जहाँ विधानसभा हुने छैन । यस्तै अर्को भाग जम्मू–कश्मीर हुनेछ, जहाँ विधानसभा हुनेछ ।

स्वायत्तताको शर्तमा सन् १९४७ मा भारतमा मिसिएको जम्मू–कश्मीरको सो दर्जा सात दशकपछि समाप्त भएको छ । भाजपा सरकारले संविधानमा रहेको धारा ३७० अन्त्य गरेर ऐतिहासिक गल्ती सुधार गरेको बताएको छ । भाजपा जहिले पनि धारा ३७० को विपक्षमा रहँदै आएको थियो ।

जम्मू–कश्मीरलाई लिएर भारत र पाकिस्तानबिच विवाद रहँदै आएको छ । दुवै देशले जम्मू–कश्मीरको पूर्ण भागमा आफ्नो दाबी गर्दै आएका छन्, तर केही भागमा मात्रै शासन गर्दै आएका छन् ।

हिमाली क्षेत्रमा अवस्थित कश्मीरमा मुस्लिम समुदायको बाहुल्यता छ । भारत पाकिस्तान विभाजनका बेला कश्मीरी मुस्लिम पाकिस्तान तर्फ जाने अनुमान थियो, तर स्वायत्तताको शर्तमा भारतमा मिसिए । त्यो बेलासम्म त्यहाँ कश्मीरी राजा थिए । पाकिस्तानले पनि पूर्ण कश्मीरमा दाबी रहँदै आएको छ ।

तर विभाजनका बेला कश्मीर पनि विभाजित भयो र एक हिस्सा भारत तथा अर्को हिस्सा पाकिस्तान प्रशासित भयो ।

जम्मू र कश्मीर भनिने राज्य बेलायती साम्राज्यको अन्त्यसँगै विभाजनका बेला जम्मू–कश्मीरका रुपमा भारतमा मिसियो ।

त्यसपछि भारत र पाकिस्तानबिच जम्मू–कश्मीरको स्वामित्वलाई लिएर युद्ध भयो । युद्ध अन्त्यका लागि भएको सहमतिमा दुई देशमा बाँडियो जम्मू–कश्मीर ।

भारत प्रशासित जम्मू–कश्मीरमा पछिल्लो तीन दशकदेखि स्वतन्त्रताको मागसहित हिंसात्मक गतिविधि हुँदै आएको थियो ।

 

 

तपाईको प्रतिक्रिया