धनकुटा । धनकुटामा अल्लोबाट कपडा निर्माण गर्न थालिएको छ । जिल्लामा अत्याधिक मात्रामा पाईने अल्लोबाट हाल धनकुटामा कपडा उद्योग सञ्चालन गरी कपडा निर्माण हुन थालेका छन् ।
वन जन्य उद्यम बिकास सहयोग कार्यक्रम मार्फत डिभिजन वन कार्यालय धनकुटाले बहुमुखि अल्लो प्रशोधन केन्द्रका गञ्जिमाया राईलाई अल्लो उद्योग सञ्चालनका लागि आवश्यक सामाग्री सहित फनिर्चर खरिद गर्न नौ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ ।
बिगत २०५७ सालमा उद्योग स्थापना गरेकी गुञ्जिमाया आर्थिक अभाबका कारण उद्योग सञ्चालन गर्न नसकि पछाडि परेकी थिईन् । डिभिजन वन कार्यालय धनकुटाको आर्थिक अनुदान सहयोग पाई हाल अल्लो उद्योगमा दौरा सुरुवाल, कोट, सर्ट, झोला, पर्स, जुत्त, चप्पललगायतका कपडा निर्माण गर्न शहज भएको छ ।
यस उद्योगबाट उत्पादित एउटा कोटको कपडाको मुल्य रु.सात हजार भन्दा माथि रहेको छ । हाल उद्योगमा सात जना महिलाले रोजगार पाउनु भएको छ भने गञ्जिमायाको जिवन स्तरमा समेत सुधार आएको छ ।
सिस्नो जस्तै रहेको अल्लोबाट कपडा बनाउन सकिने भएकाले उद्यमि राईले आफै अल्लो संकलन, धागो तयारी गरी कपडा तयार गर्नु भएको छ । अन्य कपडाको तुलनामा अल्लोको कपडा मह्गो र ईजतिलो हुने स्थानियको भनाई रहेको छ ।
गञ्जिमायाले आफ्नो व्यावसायलाई बजारिकरण गर्नका लागि डिभिजन वन कार्यालयमा आवश्यक सामाग्री माग प्रस्ताब पेश गरे पश्चात अनुदान सहयोग पाएकी हुन् ।
डिभिजन वन कार्यालय धनकुटाका डिभिजन वन अधिकृत युवराज मास्केका अनुसार अल्लो उद्योगका साथै जडिबुटि खेति गर्ने किसानलाई मध्य नजर गरि जडिबुटि विकास तथा खेति बिस्तारका लागि जडिबुटि भण्डारण केन्द्र निर्माणलगायतका काममा समेत अनुदान रकम सहयोग गरेको छ ।
समय समयमा घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय धनकुटाले दिएको तालिम आफुलाई शहज भएको र हाल सम्म यहि पेसा गर्दै आएको गञ्जिमायाले बताईन् ।

तपाईको प्रतिक्रिया