अहिलेका बालबालिकालाई ‘तँ’ भनेर सम्बोधन गर्नै हुँदैन । तिमी, तपाईं, हजुर भनेर मान मनितो गर्नुपर्छ । आमाबुवाले कडा शब्द बोलेमा उनीहरु रिसाउँछन्, कराउँछन् । अहिलेका बालबालिका गाली सहनै सक्दैनन् । गाली सुन्नै चाहँदैनन् । उनीहरुलाई जतिबेला पनि फकाई-फुल्याई गर्नुपर्छ ।

बच्चाहरु खाना खान मान्दैनन्, समयमा सुत्न मान्दैनन् । खाना ख्वाउनका लागि पनि उनीहरुलाई कर गर्न पर्छ । अनेक लोभ देखाएर, फकाएर खाना ख्वाउनुपर्छ । नभए त घरमा पाकेको खानेकुरामा रुची नै देखाउँदैनन् । जंकफुड खाएरै पेट भर्न खोज्छन् ।

घरमा मिठो-मसिनो पाकेको उनीहरुलाई मतलब हुँदैन । घरमा भोज-भत्तेर भएको पनि वास्त हुँदैन । आफ्नो घरको भान्सामा के पाकिरहेको छ ? कस्तो स्वादको छ भनेर चासो राख्दैनन् । उनीहरु घरको खानाप्रति उदासिन छन् । दालभात ख्वाउनै गाह्रो छ ।

अहिलेका बालबालिकाहरु लताकपडाप्रति पनि त्यती जागरुक छैनन् । उनीहरुलाई नयाँ-नयाँ र थरीथरी डिजाइनको लुगा त चाहिन्छ, तर लुगा जतन गर्ने, मिलाएर लगाउने गर्दैनन् । नयाँ लुगा पाउँदा पनि उनीहरु उमंगित हुँदैनन्, मिठो-मसिना ख्वाउँदा पनि उनीहरु उत्साहित हुँदैनन् ।

किनभने अहिले धेरैजसो दम्पतीले एक्लो सन्तान हुर्काइरहेका छन् । आमाबुवाले त्यही एउटा बच्चालाई सम्पूर्ण माया दिएका छन् । पुलपुल्याएका छन् । जे माग गर्छन्, त्यही पुरा गरिदिएका छन् । आफुले मागेको सबै कुरा पुरा हुन्छ भन्ने परेको छ बच्चालाई । त्यही भएर उनीहरुले जे चाहन्छन्, तुरुन्त उपलब्ध गराउनुपर्छ ।

अहिलेका बच्चामा धैर्यता छैन । उनीहरुले जे चाह्यो, जतिबेला चाह्यो तुरुन्त उपलब्ध हुनुपर्छ । उनीहरु धै्रर्य गर्न सक्दैनन् ।

कसैसँग स्वतस्फूर्त बोल्न, कुराकानी गर्न चाहँदैनन् । सकेसम्म एक्लै बस्न खोज्छन् । आफन्त, परिवार, इष्टमित्रसँग घुलमिल हुँदैनन् । आफ्नै परिवारका नातागोताका मान्छे पनि बिरानो झै मान्छन् । अपरिचित झै मान्छन् ।

सामाजिक सेवाको काममा उनीहरु कतिपनि उत्सुक हुँदैनन् । समाजको काममा आफ्नो सहभागिता खोज्दैनन् । सकेसम्म सबैसँग दुरी बढाएर एक्लै बस्न रुचाउँछन् ।

के बच्चाको दोष हो ?

सरसर्ती हेर्दा त सबै दोष बच्चाको हो । बच्चा खराब हुन् । एकलकाँटे हुन् । पुलपुलिएका हुन् । बुवाआमाले भनेको टेर्दैनन् । आफ्नो हठ छाड्दैनन् । जिद्दी छन् । उदण्ड छन् ।

निश्चय पनि अहिलेका बच्चा हुर्काउन अभिभावकका लागि कठिन छ । बच्चालाई खुसी राख्न अभिभावकले अनेक प्रयास गर्नुपर्छ । तर, यसको अर्थ यो होइन कि बच्चा नै खराब हुन् । उनीहरु नै सम्पूर्ण दोषको भागिदार हुन् ।

हुकाईमा त्रुटी

वच्चाको दोष भन्दा पनि उनीहरुलाई हुर्काउने क्रममा गरिएको हाम्रो त्रुटी हो यो । अहिले हाम्रो परिवार टुक्रिएको छ । हिजोको जस्तो संयुक्त परिवार छैन । एउटा दम्पतीले एउटा बच्चा हुर्काइरहेका छन् । त्यसमा पनि दम्पती कामकाजी छन् । दुबै आ-आफ्नो काममा जान्छन् । बच्चा एक्लो हुन्छन् । बच्चाको साथी छैन ।

विगतमा धेरै बच्चा एकसाथ हुर्कन्थे । उनीहरु आपसमा झगडा गर्थे, मिल्थे । खानेकुरा खोसाखोस गर्थे, बाँडीचुडी खान्थे । कुनैपनि कुरामा प्रतिस्पर्धा गर्थे । एउटालाई नयाँ लुगा दिएमा अर्कालाई पनि त्यस्तै चाहिन्थ्यो । एउटालाई मिठो खाना दिएमा अर्कालाई पनि मिठो खाना दिनुपथ्र्यो ।

यसले उनीहरुमा प्रतिस्पर्धाको भावना बढ्यो । खानेकुरामा होस् वा लगाउनेमा, उनीहरु आपसमा प्रतिस्पर्धा गर्न थाले ।

विगतमा बालबच्चाहरु अभावमा हुर्किए । उनीहरुले सबै कुरा पर्याप्त पाएनन् । त्यसैले उनीहरुले अभाव झेल्न सिके । धै्रर्य गर्न सिके । भोक सहेर बसे । पुरानै लुगामा चित्त बुझाएर बसे । यसरी उनीहरुमा धेरै राम्रो गुणको विकास भयो ।

यद्यपी अहिलेका बच्चामा यस किसिमको गुण विकास हुनै पाएन । उनीहरुले बाँडीचुडी खानु परेन । एउटै खानेकुरा वा खेल्नुकुराको लागि लुछाचुडी गर्नु परेन । नयाँ लुगाको लागि देखासेखी गर्नुपरेन । त्यसैले यी सबै कुरामा उनीहरुको चासो पनि बढेन । यसको नकारात्मक असर के भइदियो भने उनीहरुमा प्रतिस्पर्धाको भावना विकास भएन । धैर्य गर्ने क्षमताको विकास भएन । सहनसिलताको गुण विकास भएन । यी सबै उनीहरुलाई हुर्काउने क्रममा गरिएको गल्ती हुन् ।

त्यसैले बच्चालाई सानै उमेरदेखि धेरै प्राथमिकता दिएर हुर्काउने नगरौं । सबैकुरा पुरा गरेर माया दर्शाउने नगरौं । आमाबुवाले जे पनि पुरा गरिदिन्छ भन्ने भावनाको विकास हुन नदिऔं । थोरै अभाव, थोरै कष्ट, थोरै समस्यासँग पनि जुध्न सिकाऔं ।

तपाईको प्रतिक्रिया