इटहरी/ इटहरी उपमहानगरपालिकाको छाप र कर्मचारीको दस्तखत किर्ते गरेको भेटिएको छ ।  इटहरी–५ बस्ने मिरा खड्काको घर नक्सामा घर नक्सा शाखाका कर्मचारीहरुको छाप र दस्तखत किर्ते गरिएको हो ।  घर नक्सा शाखाका इन्चार्ज विकास भट्टराईले दिएको जानकारी अनुसार अमिन, सवइन्जिनीयर, इन्जिनीयर साथै वरिष्ठ इन्जिनीयरको छाप र दस्खत किर्ते भएको हो । घर नक्साको अनुमति लिनका लागि उपमहानगरपालिकाको शाखाबाट छाप किर्ते गरिएको पाइएपछि उपमहानगरपालिकाले छानविन समिति बनाएको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले छानविन समिति बनाएको हो ।
कार्यवाहक मेयर लक्ष्मी गौतमको अध्यक्षतामा बसेको बैठकले छानविन समिति गठन गरेको हो । कार्यबाहक मेयर लक्ष्मी गौतमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो अपराधमा संलग्नमाथि कार्बाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराएकी छन् ।
विज्ञप्तिमा सेवाग्राहीलाई विचौलीयाबाट सचेत रहन आग्रहसमेत गरिएको छ । उनले आफ्नो काम गराउन वा सेवा लिनका लागि विचौलीयाको भर नपरी सोझै शाखाहरुका सम्पर्क गर्न आग्रह गरेकी छन् । किर्ते गर्नेहरुको खोजी कार्यमा इलाका प्रहरी कार्यालयले प्रक्रिया अघि बढाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया