इटहरी/ मोबाइल मार्फत हुने अपराधको अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय इटहरीमा ‘सिडिआर सेक्सन’ स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङपछि इटहरी प्रहरीमा यो सेक्सन स्थापना भएको हो । यि प्रहरी कार्यालय बाहेक प्रदेश १ मा (कल डिटेल रेकर्ड) सिडिआरको सुबिधा छैन ।

इटहरीका तत्कालिन डिएसपी ओम अधिकारीको पालामा प्रदेश १ मै पहिलो पटक इप्रका इटहरीमा सिडिआर सेक्सनको स्थापना भएको थियो । तर अधिकारी इटहरीबाट सरुवा भएपछि यो सुबिधा रोकिएको थियो ।  तर अहिले नयाँ डिएसपी समिरचन्द्र खरेलले पूंन यसको प्रभावकारीताको मुल्याकन गदै सेक्सनको स्थापना गरेका हुन ।

इप्रका इटहरीमा एकहप्ता अघिदेखि यो सेक्सन स्थापना भएर काम शुरु गरिसकेको छ । सिडिआर सेक्सनले घटनाको अनुसन्धान गर्न त्यस आसपासका मोबाइलहरुको कल लोकेशन, कल रिलेसन, म्यासेज रिकभर र हराएका मोबाइल पत्ता लगाउन सक्छ ।

प्रहरीले कुनै पनि अपराधको अनुसन्धान गर्दा ‘मानव स्रोत र प्रबिधि स्रोत’ को प्रयोग गरेर घटनाको अनुसन्धान गर्छ । यस कारण पनि प्रबिधिको माध्यमबाट कुनै पनि घटनाको अनुसन्धान सहज बनाउन सिडिआर सेक्सन महत्वपूर्ण रहन्छ डिएसपी समिर चन्द्र खरेलले भने ‘इटहरीमा यो प्रबिधि स्थापना गर्दा प्रदेश १ भरिकै अपराध अनुसन्धानमा यसले प्रभाव पार्छ’ ।

‘छुटै कोठा र बिशेष कम्प्युटर राखेर दुईजना तालिम र अनुभव प्राप्त प्रहरीको जनशक्ति राखेर हामीले काम शुरु गरिसकेका छौ’ उनले भने ‘यसको उपलब्धीमा हामीले १५ बढी हराएका मोबाइल भेटिसकेका छौ’ ।

डिएसपी खरेलका अनुसार सेक्सनको स्थापना भएपछि ९ वटा हराएका मोबाइल सम्बन्धित धनिलाई बुझाइ सकेको समेत जानकारी दिए ।

यो सुबिधा इटहरीमा फेरी शुरु भएपछि हराएका मोबाइलहरुको निवेदन आउने क्रम बढेको बताइएको छ । अहिले दैनिक ३ देखी ४ वटा निवेदन आउन थालेको सिडिआर सेक्सनका प्रहरी बताउछन् ।

तपाईको प्रतिक्रिया