काठमाडौं । नेकपा एकतामा जिल्ला नेतृत्व टुंग्याउँदा बनाइएको मापदण्ड जनवर्गीय संगठनमा लागु नहुँने भएको छ । नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिद्यार्थी संगठनको अध्यक्षमा ऐन महरको नाम प्रस्ताव गरेपछि मापदण्ड लागु नहुँने संकेत देखिएको छ ।

जिल्ला नेतृत्व टुंग्याउन साविक कमिटीका अध्यक्षहरुलाई जिम्मेवारी दिएको थियो । जिल्ला कमिटी निर्माणको मापदण्ड लागुभए नविना लामा पुनः बिद्यार्थी संगठनको अध्यक्ष बन्ने थिइन । तर अध्यक्ष ओलीले निर्वतमान महासचिव महरलाई अध्यक्षमा प्रस्ताव गरेका छन् ।

नेकपाभित्र प्रवाससहित २२ जनवर्गीय संगठन छन् । १० जनवर्गीय संगठनको कसले लिने भन्ने बिषय टुंगिसकेको छ भने १२ संगठनको निर्णय हुन बाँकी छ । युवा र बिद्यार्थीलाई एउटा कलस्टरमा राखिएको थियो । युवा पूर्वमाओवादीले लिने भएपछि बिद्यार्थीको जिम्मेवारी पूर्वएमाले पाएको छ । बिद्यार्थी संगठनको नेतृत्व महरलाई दिने गरी प्रस्ताव तयार भएको छ ।

जनवर्गीय संगठनको नेतृत्व बिधि नभई ब्यक्तिका आधारमा निर्धारण गरिने भएको छ । ब्यक्तिको हैसियत र क्रियासिलताका आधारमा नेतृत्व दिने तयारी गरिएको छ । पूर्व एमालेका बिद्यार्थी खेमामा महर निकै प्रभावशाली र लोकप्रिय छन् । बिद्यार्थीदेखि नेतासम्म लोकप्रिय बनेका जुझारु महरको काँधमा बिद्यार्थीको नेतृत्व आउने निश्चित भएको छ ।

युवाको नेतृत्व पूर्वमाओवादीले दिपशीखालाई दिने भएको छ । तर दिपशीखाको नाममा भने सहमति जुट्न सकेको छैन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दीपशीखालाई नै युवाको नेतृत्व दिने पक्षमा छन् भने अर्का अध्यक्ष ओली दीपशीखाको विकल्प खोल्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया