संखुवासभा, संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ ।

‘जलस्रोतको धनी देशका गाउँमा जनता पानी नपाएर प्याक–प्याक परेका छन्’, उनले भने, ‘पानीको चरम अभाव टार्न सकिन्छ कि भनेर हिँडे पनि भरपर्दो मुहान फेला पार्न सकेका छैनौं । साना मूल मात्र भेट्यौं ।’ उनका अनुसार वडानम्बर ९ स्थित भालुखोप जंगल सिरानमा एउटा मुहान फेला परेको छ । तर, त्यसले पानी पुग्न सक्ने सम्भावना नरहेको मेयरले सुनाए ।

मुहान भेटिए उनी गाग्रोमा पानी थाप्न थाल्छन् । कति समयमा भरिन्छ भनेर हिसाब निकाल्छन् । उक्त मुहानबाट पानी ल्याउँदा कति परिवारलाई पुर्‍याउन सकिन्छ भनेर अनुमान लगाउँछन् । यसरी नाप्दा एउटा मुहानबाट प्रतिसेकेन्ड ५ लिटर पानी आउने पत्ता लागेको छ ।

पाँचखपनका लिङलिङ, खप्टुवा, खमारे, खानीगाउँ, अर्चले, डाँडागाउँलगायत ठाउँका बासिन्दाले पाँच वर्षयता पानी समस्या झेल्दै आएका छन् । वडा नम्बर ४, ५, ६, ७ र ८ मा खानेपानीको चरम अभाव छ । नजिकमा मुहान छैन, भएका पनि सुके । पानी अभावमा धेरै परिवार बसाइँ गएका छन् । ३ हजारभन्दा बढी परिवारले खानेपानी अभाव झेलिरहेका छन् ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक भीम बम्जन तामाङका अनुसार हिउँद लागेपछि पानीको चिन्ता हुन्छ । ‘खानेपानी अभाव भएपछि जनप्रतिनिधिसहित हामीले धेरै ठाउँमा मुहान खोजी गर्यौं’, उनले भने, ‘सबैलाई पुग्ने मुहान फेला परेको छैन ।’ उनका अनुसार भालुखोप सिरानको मुहानमा अरू मिसाएर गाउँमा पानी ल्याउन सकिन्छ ।

‘सामान्य खालका मुहान फेला परे पनि टाढा रहेका कारण कसरी पानी ल्याउने भन्ने तनाव थपिएको छ’, उनले भने, ‘पानी अभाव हुँदा मेयर आफैं खाली गाग्रो बोकेर मुहान खोज्दै हिँड्नुपर्ने अवस्था आयो ।’ उनका अनुसार २ हजार परिवारलाई धान्न सक्ने मुहान भेटिएको हो । भने, ‘बाँकीका लागि पानीको जोहो कहाँबाट गर्न सकिन्छ भन्ने टुंगोमा पुग्न सकेका छैनौं ।’

४० जनाको जम्बो टोलीमा टोलीमा उपमेयर भीमदेवी राई, वडाध्यक्षहरू पाँचपखन–४ का काजीमान तामाङ, ५ का रामबहादुर तामाङ, ६ का नरेशकुमार श्रेष्ठ, ७ का कृष्णबहादुर खड्का, ८ का छत्रबहादुुर न्यौपाने र ९ का कुलबहादुर तामाङ संलग्न छन् । यस्तै वडासदस्य, प्राविधिक, स्थानीय शिक्षक र गाउँका अगुवा पनि छन् ।

बजेट ५० लाख, लाग्ने १५ करोड
मेयर राईका अनुसार मुहान खोजी र योजना सञ्चालन गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । तर, यो बजेट पूर्वाधार तयार गर्नमै खर्च हुने देखिएको छ । थप रकमका लागि प्रदेश र संघीय सरकारसँग आग्रह गरिएको उनले सुनाए ।

विभिन्न मुहानलाई एकत्रित गरी पानी ल्याउन १५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान प्राविधिकले गरेका छन् । उपमेयर राईका अनुसार तत्काल योजना सञ्चालन गरी पानी वितरण गर्नुपर्ने अवस्था छ । ‘एउटा मात्र मुहानको पानी दीर्घकालसम्मका लागि पर्याप्त हुने देखिएन’, उनले भनिन्, ‘ओढारेसहितका विभिन्न मुहानको पानी संकलन गरी ल्याउनुपर्ने अवस्था छ ।’

कुवा रित्तिए बित्यास
खानीगाउँकी रामदेवी श्रेष्ठलाई अन्य कामभन्दा पनि पानीको चिन्ता हुन्छ । घरभन्दा दुई घण्टा टाढाको कुवामा पानी लिन उनी प्रत्येक दिन बिहान ३ बजे पुग्छिन् । ‘३ बजे कुवा पुगेर लाइनमा बस्दा ५ बजेतिर पानी भर्ने पालो आउँछ’, उनले भनिन्, ‘कहिलेकाहीं त कुवाको पानी रित्तिएर अस्थायी धारोबाट पानी आउँदैन । त्यत्तिकै फर्कनुपर्छ । घर आइपुग्दा बिहानको ७–८ बज्छ ।’

उज्यालो भुइँमा नझर्दै कुवा चहारेर पानी जम्मा पर्नुपर्ने स्थिति रहेको खानीगाउँकै चन्द्रकुमारी विकको भनाइ छ । ‘राति नै पुग्नेले पानी भर्न पाउँछन् नभए कुवा रित्तिएर खाली फर्कनुपर्छ’, उनले भनिन्, ‘लाइनमा बस्दा पनि पानी भर्न नपाउँदा झैंझगडासमेत भएको छ । कतिपय छिमेकीबीच बोलचाल बन्द भएको छ ।’

बिहान ३ देखि रातको १० बजेसम्म कुवा रुङ्छन्, स्थानीय । ‘बढीमा चार–पाँच घण्टा कुवामा जम्मा हुने पानीले कतिलाई पुग्नु रु त्यो पानी त धारोबाट झर्दाझर्दै रित्तिन्छ’, उनले भनिन्, ‘कुवामा को अगाडि पुग्ने भन्ने होडबाजी हुन्छ । ढिलो पुग्नेले पानी भर्न पाउँदैनन् ।’

गुप्तेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक लोकबहादुर श्रेष्ठलाई पानी अभावले बसाइँ गएको खबर सुन्दा अचम्म लाग्थ्यो । ‘तर, हाम्रो गाउँले पनि त्यही नियति भोग्नुपरिरहेको छ’, उनले भने, ‘१० परिवार बसाइँ गइसकेका छन् । अन्य परिवार पनि हिँड्न खोज्दै छन् । पाँच वर्षयता पानीका मुहान सुक्ने क्रम बढेकाले यस्तो अवस्था आयो ।’ चैत–वैशाखमा तीन–चार घण्टा तलको सभा खोलाको पानी बोकेर ल्याउनुपर्ने उनको भनाइ छ ।

‘सरकारले समयमै विकल्प खोजी गर्ने हो भने हामीले काकाकुुलको जुनी पार गर्छौं’, उनले भने, ‘राति नै कुवा पुग्दा मात्र पानी पाउन सकिन्छ । हैन भने पानी नभएर पकाउन नपाउँदा दिनभर भात पनि खान नपाउने अवस्था छ ।’ गाउँमा अन्य खाद्यवस्तु किनेर खान पाए पनि पानी भने किनेर खान नपाइने उनले सुनाए । समस्या समाधान नगर्ने हो भने गाउँ छाड्नेको संख्या बढ्ने उनले बताए ।

१० परिवार हिँडे बसाइँ
स्थानीय सरकारका लागि पानी अभाव चुनौती बनेको छ । पानीकै लागि बसाइँ जाने क्रम बढिरहेको छ । ‘खानेपानी अभाव समाधान गर्न नसके अझै बसाइँ सर्नेको संख्या बढ्ने देखिन्छ’, उनले भने, ‘पानीको जोहो गरेर बसाइसराइ रोक्नु चुनौती बनेको छ । ’पाँचखपन–४ खानीगाउँका गंगाबहादुर विक, गोपाल विक, चन्द्र श्रेष्ठ, गणेश विक, भीम श्रेष्ठ, गंगा श्रेष्ठलगायत १० परिवार बसाइँ हिँडेको स्थानीय बुद्धि श्रेष्ठले बताए ।

वन फँडानी, भूक्षयका कारण मुहान सुक्ने भएकाले संरक्षणका लागि मुहान वरपर वृक्षरोपण गर्नुपर्ने जिल्ला वन महासंघ संखुवासभाका अध्यक्ष बद्री सापकोटाको भनाइ छ । ‘वातावरणीय अध्ययन नगरी जथाभावी सडक विस्तार भइरहेका छन् । वन फँडानी पनि बढेको छ’, उनले भने, ‘मुहानलाई असर गर्ने गरी सडक बनाउँदा धेरै गाउँका बासिन्दा काकाकुल छन् । पानीका स्रोत सुकाउने गतिविधि बन्द गरिनुपर्छ ।’

जलवायु परिवर्तनको असर पनि पानीका मुहानमा पर्न थालेको उनको बुझाइ छ । यसतर्फ पनि सचेत रहनुपर्ने बेला आएको उनले बताए ।

अन्नपूर्णबाट

तपाईको प्रतिक्रिया