बिकल रेग्मी  / पूर्वीय साहित्य र संस्कृतिको प्राज्ञ इतिहासले ‘गुरुकुल’ चिन्थ्यो अनि निरन्तरता पाउँदै आएको थियो । तर, बदिलिँदो समयसँगै विद्यालय हुँदै औपचारिक शिक्षाको अवधारणा ई–कक्षासम्म पुगिसकेको छ । सुनसरीको एक टोलमा भने पिलबोटमुनि सयौँ बालबालिका पढाइन्छन्, यो शिलशिला नयाँ होइन २२ बर्ष पुरानो हो । सुनसरीको इटहरीस्थित टेंग्रा खोला किनार । पिपलको बोटमुनी एकाबिहानै भेटिन्छन्, केही बालबालिका– कोही भुईमा त कोही म्याटमाथि बसेर पढिरहेका । साथमा, एक ज्येष्ठ शिक्षक चन्द्र भण्डारी । राजमार्ग नजिकैको सडकमा दैनिक दुई घण्टाको लागि रुखमुनी भेला हुन्छन,  पढ्छन, फर्किन्छन् । शिक्षक चन्द्र भण्डारीले त्यो ठाउँको नाम दिएका छन, पिपलबोटे स्कुल । निम्न आय भएका परिवारका केटाकेटीलाई उनले खुला स्थानमा भण्डारीले निशुल्क पढाउन थालेकोे २२ वर्ष भइसकेको छ । ‘पढ्न आउने अधिकांश बदाम बिक्री गर्ने, चटपटे बेच्ने, चप्पलजुत्ता सिलाउनेका छोराछोरी छन,’ कसैले केटाकेटी नपठाए आफैं लिन घरमा पग्छन् । समयसँगै विद्यार्थीहरु धेरै फेरिए, सबैलाई त शिक्षक आफैं चिन्दैनन् । यो अवधिमा उनले पढाएका विद्यार्थी सरकारी गैरसरकारी क्षेत्रका विभिन्न ओहदामा पुगे, तर शिक्षक फेरिएनन् । न कहिल्यै थाके नै । बरु, अर्थिक अभावका कारण पढाइमा निकै उतारचढाब खेपेका उनी ज्ञान बाँड्नुमानै आत्मसन्तुष्टी पाउँछन् । धनकुटाको एक सरकारी विद्यालयबाट २०४३ सालमा एसएलसी पास गरेका भण्डारी धनकुटा बहुमुखी क्याम्पसमा भर्ना मात्र भए । कारण, पढ्ने इच्छालाइ आर्थिक अभावले ओझेलमा पारिदियो । रोजगारी खोज्दै इटहरी झरे र ग्यारेजमा काम थाले दैनिक १० रुपैयाँ ज्यालामा । समयसँगै उनले गर्ने काम र जीवनशैली पनि फेरिँदै गयो

। आफूसँगै अरुलाइ पनि बदल्ने उनको अभियानलाइ निरन्तरता दिँदै गए । सकारात्मक सोचका साथ थालिएको कामको परिणाम वास्तवमै मीठो हुन्छ । भण्डारीको यो अभियानलाई अभिभावकले पनि त्यत्तिकै साथ दिएका छन् । आफ्ना नानीहरूलाई बिहानै बोरा दिएर ट्युसन पठाउँछन् । ट्युसनमा नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई सबै विषय पढाउँछन्, उनी । सामुदायिक स्कुलदेखि बोर्डिङका समेत विद्यार्थी हुन्छन् । आइतबार र सोमबार गणित, मंगलबार अंग्रेजी, बुधबार विज्ञान, बिहीबार नेपाली र शुक्रबार सामाजिकलगायतका अरु विषय पढाइ हुन्छ । धेरै कक्षाका विद्यार्थीलाई सबै विषय पढाउँदा पनि उनलाई अफ्ठ्यारो लाग्दैन । भण्डारीले पढाउदा स्कुलमा भन्दा छिटो बुझ्ने र सरसँग पढ्न सहज हुने विद्यार्थीहरु बताउछन् । विद्यार्थीलाई घामपानीबाट जोगाउन खोलाको छेउमा बाँसको टहरो बनाएका थिए । तर, धेरै समय नबित्दै वैधानिकताको सवाल निस्कियो इटहरी नगरपालिकाले भत्काइदियो । फेरि कक्षा बन्यो, उही धुले किनार । विभिन्न एनजीओ आइएनजीओले कक्षाकोठाका लागि भण्डारीसँग प्रस्ताव नराखेका होइनन् । तर, स्थानीयले नै विद्यार्थीका लागि कोठाको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने उनको चाहना छ ।
भण्डारीको यो कार्य जति सराहानीय छ, त्यत्ति नै सोचनीय पनि । सोचनीय त्यो समाजका लागि जहाँ बालबालिककाको शिक्षाका लागि बर्षेनी लाखौँ खर्च गरिन्छ । अनि, त्यो मुलुकका जसले व्यवस्थित शिक्षाका नाममा अर्वौ लगानी गरिएको छ ।

तपाईको प्रतिक्रिया