असोज ४ गते दिनदहाडै हरिनगर गाउँपालिका २ भुटाहामा मुस्लिम अगुवा खुर्शिद आलममाथि गोली प्रहारहुँदा घटनास्थलमै उनको ज्यान गयो । सो घटनाको अनुसन्धान टुङगो नलाग्दै ६१ दिनपछि दुहवी नगरपालिका ९ छाताबेलीका फिदा हुसेन उपर मंसिर ५ गते विहान गोली हानियो र उनको समेत ज्यान गयो ।दुवै हत्याका घटनामा अपरिचित समूहले गोली प्रहार गरे र फरार भए । फिदा घटना ताजै छ र जुन अनुसन्धानकै चरणमा छ । प्रहरीले फिदा हुसेन हत्याकाण्डसँग जोडिएका विविध पक्षको सूक्ष्म अनुसन्धानलाई जारी राखेको बताएको छ । उता हुसेन हत्या पूर्व भुटाहामा आलमको गोली हानी हत्या भएको घटना अनुसन्धान निचोड नजिक पुगेको बताउने प्रहरीले हत्यारा भने पक्राउ गर्न सकेको छैन् ।

सुनसरीमा दुई महिनाको अवधीमा गोली प्रहारबाट दुईजनाको हत्या भएपश्चात प्रहरीले सुरक्षामा चेकजाँचमा कडाईका साथै सुरक्षा रणनीतिमा फेरबदल गरेको छ ।प्रहरीले जिल्लामा सुरक्षा थ्रेटलाई मध्यनजर गर्दै खुफिया दस्ता परिचालन गरेको छ । विशेष तालिम प्राप्त दस्तामा हतियार सहित सादा पोशाकका सुरक्षाकर्मी सुनसरीको हकमा परिचालित गराइएको छ ।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आवश्यक्ता परेको खण्डमा विशेष दस्ताले गोली चलाउन आदेश कुर्नु पर्ने छैन् । अवस्थालाई मध्यनजर गर्दै जवाफी कार्वाही गर्न सक्ने अधिकार पाएको सुरक्षाकर्मीले आवश्यता परेको खण्डमा टार्गेट काउण्टरमा उत्रन सक्ने छ ।
खुला सीमा क्षेत्रमा हुने आवतजावतसँगै आपराधिक कार्यमा संलग्न रहेकाहरुको सकृयता देखिन सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल भारत सीमा सहित आसपासको क्षेत्र र सम्भावित सुरक्षाथ्रेट र संवेदनशील मानिएका भेगका अलावा जिल्लाभर मुभमेन्ट रहने गरी थप टोली सहितको खुफिया दस्ता परिचालन गराइसकिएको सुनसरी प्रहरीले जनाएको छ ।

एकपछि अर्को गोली हानि हत्या गरिएको घटना पश्चात शान्ति सुरक्षाको विषयलाई लिएर आलोचना खेप्नु परिरहेको प्रहरीले आपराधिक प्रवृति नियन्त्रणमा लिन जिल्लाभर एकसाथ टाग्रेट काउण्टर रणनीति कार्यान्वयनमा ल्याएको जनाएको छ । जसकालागि सुनसरी प्रहरीले अन्य जिल्लामा रही कार्यसम्पादनमा उत्कृष्ठ ठहरिएका सुरक्षा मामिलाका दक्ष र अनुभवी जनशक्तिसमेत जिल्ला भित्राएको छ । गाउँटोल सहित सीमा क्षेत्रमा परिचालित सुरक्षाकर्मीको टोलीले शंकास्पद गतिविधीमा संलग्न रहेको पाइए सम्वन्धित व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने छ ।

हतियार सहितका व्यक्ति फेला परेको खण्डमा वा सूचनाका आधारमा पिछा गरिएको अवस्थामा मानव अधिकारको उल्लंखन नहुने गरी नियन्त्रणमा लिने प्रयास गरिने बताएको प्रहरीले अवस्था नियन्त्रण बाहिर जाने सम्भावना रहे, आपराधिक व्यक्ति वा समूह सहजै नियन्त्रणमा लिन नसकिए, आक्रमणको सम्भावना बढे वा शान्ति सुब्यवस्थामा खलल पुग्ने अवस्था सृजना हुनजाने पाटोलाई मनन गरी आपराधिक प्रवृतिका व्यक्ति वा समूह उपर सोझै गोली हान्न सक्ने रणनीतिसाथ सुनसरीमा विशेष खुफिया दस्ता परिचालन गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

विशेष अप्रेसनमा जुटेको सुनसरी प्रहरीले विगतका वर्षहरुमा जिल्लामा भएका आपराधिक घटनासँग सम्वन्धित रहेका सम्वन्धित व्यक्तिको दिनचर्या र अवस्था बारेसमेत लेखाजोखा र निगरानी बढाएको बुझिएको छ ।

विभिन्न घटना वा आपराधिक गतिविधी, लागुऔषध कारोबारी जस्ता अपराधजन्य कार्यमा संलग्न रही सजाय भोगेका वा सजाय काटी रहेकाहरुका हकमा समेत प्रहरीले विवरण दुरुस्त पारेको जनाएको छ । फरार रहेकाहरुको हकमा समेत खोजी तिव्र पारेको प्रहरीले शंकास्पद जोकोहीलाई नियन्त्रणमा लिई छानविन गर्ने गरी सुरक्षा रणनीति तय गरेको छ । खुला सीमासँगै जिल्लामा देखिएको साना हतियारको ओपारपसारसँगै आलम र फिदा हत्यामा प्रयोग भएका हतियारले सुरक्षा थ्रेट बढाएको महसुस गरेको प्रहरीले आपराधिक प्रवृति नियन्त्रणमा लिन टार्गेट काउण्टर नीति अवलम्बन गरिएको जनाएको छ ।

सवारी चेकजाँच, सरप्राइज चेक पोइन्ट सहित खानतलासी सहित काउण्टर पार्टसँगको समन्वयमा खुला सीमाका कारण हुन सक्ने आपराधिक गतिविधी नियन्त्रणमा सहकार्यको थालनी समेत गरिसकिएको प्रहरीको भनाई छ । सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले संघीय र प्रादेशिक सरकार मातहतबाट प्राप्त निर्देशन र कार्यादेश अनुरुप जिल्लाभर विशेष सुरक्षा रणनीति लागु गरिएको बताएका छन् । अपराध नियन्त्रण तथा निरमूल पार्ने अभियान आम नागरिकको सहकार्य विना सम्भव नहुने भन्दै प्रहरी प्रमुख अधिकारीले आवश्यक साथ र सहकार्यकालागि सर्वसाधारणमा आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया