दिपेन्द्र यादव÷इनरुवा ।स्थानीय तहमा सबै अधिकार गएपछि जिल्ला समन्वय समिति सुनसरीमा जिल्ला समन्वय अधिकारी बस्न नमानेको खुलेको छ । कुनैे समय सुनसरी जिल्ला विकास समितिमा रकम खुवाएर, भनसुन गरेर र अन्य अस्त्र प्रयोग गरी आउनका लागि तछाडमाछाड गर्ने स्थानीय विकास अधिकारीहरु अहिलेको जिल्ला समन्वय समितिमा आउन नमानेको खुलेको हो ।

सुनसरीमा विगत एक वर्षको अवधीमा पच्छिलो चार महिनामा मात्रै चार समन्वय अधिकारी फेरिएका छन् । जिल्ला समन्वय समितिमा बस्न नमानेकाले यो अवस्था सृजना भएका समितिका प्रमुख गोपालराज भण्डारीले जानकारी दिए । उनका अनुसार यहाँ आएका र खटाइएका कर्मचारीहरु कार्यालयमा आउने वितिकै जाने क्रमले राम्रोसंग काम समेत गर्न नपाएको अवस्था छ । सुरुमा ‘कार्यकारी’ को विवाद उठेको र अहिले समन्वय अधिकारीहरु बस्न नमानेकाले चार महिनामा चार अधिकारी फेरिएको अवस्था रहेको भण्डारीको भनाई रहेको छ ।

उनले भने आफू आउदाँको बखत रहेका तुलसी बहादुर श्रेष्ठ , आफू आएको केही महिनामा सरुवा भएको र त्यसपछि पुस्कर भट्टराई आए , उनी चार महिना बसेर गए, त्यसपछि ओमकार न्यौपाने आए र डेढ महिनामा नै सरुवा लिएर गए । पच्छिलो महिनामा मात्रै आएका आम्बीका चौलागाई एक महिना नबसी प्रदेश सरकारको मन्त्रालयमा सरुवा लिएर गएको अवस्थाले काम समेत गर्न समस्या भएको बताए ।

विगतमा यहाँ आउनका लागि लाईन लाग्थे अधिकारीहरु अहिले त आउन नै मान्दैन , त्यसैले यहाँ हाकिम विहिनताको अवथामा काम गर्नुपरेको प्रमुख भण्डारीले गुनासो पोखे ।

सुनसरीमा सोमबारदेखि अधिकारी विहिन भएको छ । अधिकारी नहुदाँ यहाँको संसद विकाश कोष, लेखा, ठेक्कापट्टा, योजना र अन्य दैनिक कार्यालय सञ्चालन समेतको काम प्रभावित भएको समितिले जनाएको छ ।

यहाँ माल भएको बेला सबै आउन खोज्ने र अहिले बजेट स्थानीय तहमा बढी गएकाले गाउँपालिका , नगरपालिका जान मान्ने तर जिल्ला समन्वय समितिमा आउन नमान्ने अवस्था रहेको समितिका पदाधिकारीहरुले बताएका छन् ।

विगतमा प्राय सबै गाउँ विकास समिति र नगरपालिका जिल्ला विकास समिति मातहतमा रहने भएकाले सबैबाट कमिसनदेखि सेवासुविधा बढी पाउने लोभले अधिकारीहरु यहाँ आउन शक्ति केनद्र धाउने गरेकोमा अहिले यहाँ आउन र बस्न कोही पनि नमानेको बताइएको छ ।

अहिले पच्छिलो पटक अधिकारी भएर आउनुभएका चौलागाईले आफ्नो सेवा सुविधा र इन्धन कार्यालयमा नआइकन नै बुझी सोमबार रावाना लिएर विदाई भएका समितिले जनाएको छ ।

यता जिल्ला समन्वय समितिका समन्वय अधिकारीलाई स्वागत गर्न नपाउदै सरुवा हुने वा जाने क्रमले स्वागत र विदाईमै पदाधिकारीहरु एक वर्ष विताएको बताईएको छ । एउटा अधिकारी भएर आउनुभएको महिना पनि वित्दैन सरुवा भएको सूचना आउछ । यसरी काम गर्न निकै समस्या भएको पदाधिकारीहरुले बताएका छन् । आएका अधिकारी एक वर्ष वा दुई वर्ष बस्ने होला भनेर हामी सोच्छौ तर एक वर्ष त के एक महिनामा नै परिवर्तन भएर हामीलाई हैरानी छ । प्रमुख र उपप्रमुखको सवारीको लागि इन्धनको समेत समस्या हुने अवस्था भएको एक सदस्यले बताएका छन् । चौलागाईले आफ्नो सेवा सुविधा र इन्धन कार्यालयमा नआइकन नै बुझी सोमबार रावाना लिएर विदाई भएका समितिले जनाएको छ ।

अहिले स्थानीय ताहमा कृषि तथा पशुसेवा केन्द्र र उपकेन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, आयुर्वेद औषधालय, शिक्षा केन्द्र र उपकेन्द्र, प्राथमिक स्वास्थ्य केन्द्रजस्ता कार्यालयको जिम्मेवारी हस्तान्तरण भएका छन् । विभिन्न योजना र कार्यक्रमबाट सम्पन्न खानेपानी, सिँचाइ, महिला विकास, नगर विकास समितिलगायत विकास निर्माण संरचनाका चलरअचल सम्पत्ति, बजेट, कार्यक्रम र कर्मचारी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा हस्तान्तरण भएका छन् । यही कारणले समेत अधिकारीहरु समितिलाई बेवास्ता गरेको र सरकारले समेत वास्ता नगरेको समितिका सदस्य नुनु अंसारीले बताए ।

तपाईको प्रतिक्रिया