बिकल रेग्मी, इटहरी / श्रीलंका टापुमा सुनसरी बाट जाने बाटो छैन । कोशी नदी तर्ने पुल छैन । विजुली छैन । विजुली नहुँदा टेलिभिजन हुने कुरै आएन । संसारमा सर्वत्र उपलब्ध मोवाइलको नेटवर्क पनि कहीलेकाही नहुँदा सञ्चार सम्पर्क अवरुद्ध हुन्छ । खानेपानीको राम्रो सुविधा छैन । गरिब निमुखा जनताले जेनतेन आफ्नै खर्चमा जडान गरेको चापाकलहरु जमिन मुनि २० फिटसम्म धसाइएको छ । दुषित पानी पिएर जीवन धान्दैछन् श्रलिंका टापुका बासिन्दाहरु । टापुमा एउटा निम्नमाध्यमिक स्तरको विद्यालय छ । त्यसकारण ७ कक्षाभन्दा उभो पढेका श्रीलंका टापुमा कोही भेटिदैनन् । अधिकांश बालवालिकाहरु बलौटे मैदानमा खेलिरहेका हुन्छन् । गाउँ बाहिर पढ्न जान कोशीले दिँदैन । फेसबुक र इन्टरनेट बारे यहाँका धेरै जनताले सुनेका छैनन् । जंगली हात्ती र अर्नाले मानिसलाई घाइते बनाई दिन्छ । तर उपचारका लागि अस्पताल लान सकिदैन । सर्पले टोक्दा स्थानीय धामीको शरणमा पुग्छन् । गाउँमा रहेको ४ थान रेडियो र कसैकसैले नाडीमा बाँधेको घडी झिकिदिने हो भने १७ हौं शताव्दीको मानववस्ती बन्छ श्रीलंका टापु ।
श्रीलंका टापुमा पशु चरिचरणका लागि जताजतै ठूल्ठूला फाँटहरु छन् । पशुपालनकै भरमा यहाँका बासिन्दाहरुको गुजारा चलिरहेको छ । पशुधनलाई बजारमा लगेर बिक्री गरे नगद कमाइ हुन्थ्यो तर कोशी तारेर पशुधन बिक्री गर्न बजार लैजानै कष्टशाध्य छ । त्यसकारण पशुधन पनि किलोमा जन्मेर किलोमै मर्छन् । अतिशय पीडा र सास्ती खपेर र जोखिम मोलेर कसैकसैले पशुधन कोशी तारेर हाट बजार पु¥याउँछन् । व्यापारीहरु पुग्दा चलनसारको भन्दा एक चौथाई मूल्यमा पशुधन बिक्री गर्नुपर्छ । गाई भैंसीको दुध एकमात्र पौष्टिक आहार छ श्रीलंका टापुका बासिन्दाका लागि ।
२०४६ सालमा पञ्चायत ढलेर प्रजातन्त्र आयो । क्रमश गणतन्त्र सहितको लोकतन्त्र पनि आयो । श्रीलंका टापुका जनताले दुई पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी लाई मतदान गरी जिताए । जगदीश कुसियैत र भीम आचार्य जस्ता नेतालाई पनि भोट हालेर जिताए । राजनीतिक दल र तिनका नेताहरुले चुनाव ताका सडक , पुल , विद्यालय , विजुली , अस्पताल , खानेपानी र ऐलानी जग्गाको लालपुर्जा दिने आस्वाशन बाँडियो । तर प्रजातन्त्र पुनर्वाहाली भएको ३० वर्षमा सरकारले काठे डुङ्गा वाहेक केही दिन सकेको छैन । श्रीलंका टापुका जनतालाई । श्रलिंका टापुका बासिन्दा भन्छन् हामीलाई भोटबैंकको रुपमा प्रयोग गरिएको छ ।
राज्य र श्रीलंका टापुका जनताबीच एउटै साइनो जीवित छ । त्यो हो चुनावका बेला भोट हाल्ने । श्रीलंका टापुका मतदातालाई चुनावका बेला भोट हाल्न कोशी पूर्वको प्रकाशपुर र महेन्द्रनगर ल्याइन्छ । सास्ती खपेर र जोखिम मोलेर कोशी तर्दै उनीहरु भोंट हाल्न आउँछन् । अरुबेला श्रीलंका टापुका जनता र राज्यबीच कुनै सम्पर्क र लेनदेन देखिँदैन ।
सरकारी निकाय र स्थानीय सरकारले पनि पुरै वेवास्ता गरेको श्रीलंका टापुका जनतालाई । गैर सरकारी संस्थाहरु प्नि टापुमा पुगेका छैनन् । जनसंख्या र क्षेत्रफल दुवै हिसाबले बेग्लै गाउपालीकाको हैसियत राख्छ । तर टापुलाई वडामा सीमित राख्ने बराह नगरका नेता बेग्लै गाउपालीकाको मान्यता दिलाउन चाहँदैनन् । नेताले टापुका बासीन्दालाई हरेक चुनावमा भोट बैंकका रुपमा प्रयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया