शिवालय, हरियो चुरा र जल अर्पण इटहरी, १ साउन । हरेक बर्षको साउन महिला हिन्दु धर्म मान्नेहरुका लागि निकै भक्तिभाव प्रकट गरिने महिनाका रुपमा मानिदै आएको पाईन्छ । यो साउन महिनाभरि नेपाल भूमिमा रहेका प्रत्येक शिवालयहरुमा विहानै भगवान शिवको आरधनाका लागि भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । नेपाली हिन्दु नारीहरुले विशेष गरेर यो साउन महिनालाई हर्ष उल्लास अनि भक्तिको महिनाका रुपमा मनाउने प्राचीनकालदेखिको परम्परा अझै पनि बढ्दो देखिन्छ । हातमा मेहदी लगाउने अनि हरियो पहेलो रातो र निलो रङका चुरा नाडीभरि लगाई गलामा पहेँलो पोतो सहित भक्तिपूर्वक पूजापाठमा सक्रिय रहने हिन्दु महिलाहरुको हुलका हुल शहर बजार र मन्दिर वरपर भेटिन्छन । अझ यो साउनको हरेक हप्ताको सोमवार धरानको पीण्डेशवर शिवालयमा बराहक्षेत्र र चतरा कौशिकी तटबाट जल ल्याएर चढाउने भक्तजनको भिडले यो साउन महिनाभरि नै सुनसरी जिल्लाको गाउँ शहर र बजार महेलाम्मे बन्ने गरेको छ । पहेँलो बस्त्र धारण गरेर बोलबमको नारा लगाउँदै जल उठाउन बराहक्षेत्र मन्दिर क्षेत्रको सप्तकोशी र कोका नदी अनि चतराको कौशिकी तटमा हजारौ भक्तजनहरुले जल उठाएर शुद्ध आत्माले पीण्डेश्वर शिवालयमा जल चढाउनाले आफ्नो मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास पनि रहि आएको छ । त्यस बाहेक स्थानीय धारा कुवा तलाउ खोला लगायतका स्थानबाट पनि बोलबमको नारा लगाउँदै भगवान शिवप्रति भक्ति दर्शाउँदै  नारी र पुरुषहरुले सकेसम्म गलामा रुद्राक्षको माला धारण गरी जल लिएर पीण्डेश्वर शिवालयमा चढाउन जाने भक्तजनको पनि कम घुईचो हुँदैन । हरेक बर्ष धरानको पीण्डेश्वर शिवालयमा जल अर्पण गर्ने भक्तजनहरुको भिड र घुईचो बढिरहेको देख्दा धर्मप्रति आस्था पनि बढिरहेको सन्देश प्राप्त भई रहेको पाईन्छ । अझ पछिल्लो समयमा आएर हातभरि मेहन्दी लगाएर सजिसजाउ हुँदै महिलाहरुले भगवान शिवको पूजापाठ आरधना र भक्तिभाव प्रकट गरेर हिन्दु धर्मावलम्वीहरुले पछिल्लो समयमा देखाउँदै आएको धार्मिक सक्रियता र बोलबम तीर्थयात्रा गर्ने परम्पराले हिन्दु धर्मको महिमा अझ तिखारिदै गएको हो कि भन्ने आभाष बढिरहेको छ । साउनको यो पहिलो दिनदेखि नै बजारहरुमा रहेको कस्मेटिक पसलहरुमा चुरा पोते अनि पहेँला बस्त्र खरिदकर्ताहरुका भिडले यतिखेर ब्यापार बढाई रहेको देखिन्छ भने अर्को तर्फ धार्मिक पर्यटकहरुको भिड र घुईचोले पूर्वी नेपालको सुनसरी मोरङ्ग झापा र धनकुटा लगायतका शहरका बजारहरु पहेलाम्मे बस्त्रले सजिसजाउ देखिने गरेका छन ।

तपाईको प्रतिक्रिया