इटहरी । धरान उपमहानगरको आज आईतवार दिनभरदेखि साँझसम्मको पछिल्लो मत गणनाको सार्वजनिक नतिजा अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार तारा सुब्बाले २०९७५ तथा उपमयेरकी उम्मेदवार मञ्जु भण्डारीले २१२५६ मत ल्याई बिजय हाँसिल गर्नुभयो । राती अवेर घोषित मत गणनाको नतिजा अनुसार धरान उपमहानगर घोषणा भएपछि पहिलो पटक तारा सुब्बा र मञ्जु भण्डारीले मेयर र उपमेयर पदमा जितेर नयाँ इतिहाँस बनाउने सफलता पनि प्राप्त गर्नुभएको छ ।
एमालेको तर्फवाट बिजयी मेयर सुब्बाका निकटतम प्रतिद्धन्दी नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदावर तिलक राईले १६१०२ मत अर्थात एमालेका बिजयी उम्मेदवार तारा सुब्बाले प्राप्त गरेको मतभन्दा ४८७३ मत कम प्राप्त गरि पराजित बन्नु परेको छ । त्यसैगरी उपमेयर मञ्जु भण्डारीले प्राप्त गर्नुभएको कुल २१२५६ मतभन्दा ६३३९ कम मतले नेपाली काङ्ग्रेसकी उपमेयर पदकी उम्मेदवार श्यामा रेग्मीले पराजय भोग्नु परेको छ । उहाँले १४९१७ मत ल्याउनु भएको छ । धरान उपमहानगरको २० वटा वडाहरुमध्ये पराजय भोग्न पुगेको नेकाले वडा नम्वर १, २, ५, १४ र १८ मा जित निकालेको छ ।
देशमा प्रजातन्त्र आएदेखि लगातार हालको धरान उपमहानगरपालिकाको नेतृत्व सम्हाल्न आएको नेकपा एमालेले मेयर उपमेयरसँगै वडा नम्वर ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० अर्थात १४ वडामा नेकपा एमालेले जित निकाल्यो भने वडा नम्वर १७ मा भने नेकपा माओवादी केन्द्रका तर्फवाट वडा अध्यक्षमा उम्मेदवार रहेका सूर्यवहादुर अर्थात मनोज भट्टराईले अरु ८ दलीय गठबन्धनको सहयोगमा वडा अध्यक्ष सहित वडा सदस्यमा जित निकाल्न सफल भएका छन ।
धरान उपमहानगरको कुल मतदाता ८० हजारमध्ये ५३, ८१२ जना मतदातालेमात्र मतदानमा भाग लिएका छन । धरान उपमहानगरमा बसोवास गरी जनगणना २०६८ अनुसार मतदाता नामावलीमा फोटो सहित मतदाता नामावलीमा नाम रहेका २६,१८८ जना मतदाताले मतदानमा भाग नलिएको पाईएको छ । धरान उपमहानगरमा यसअघि वि.सं. २०४६ पछि नेकपा एमालेका तर्फवाट ध्यानबहादुर राई र मनोजकुमार मेयाङ्ग्वोले मेयर भई नेतृत्व सम्हालिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया