काठमाडौँ / २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा शनिबार मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् ।


पोखरामा शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीहरुको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । कठिन परिस्थितिमा सहाराले प्रतियोगिता आयोजना गर्न मिहिनेत गरे जस्तै आफूहरुले पनि सोही अनुसारको खेलमा मिहिनेत गरेको उनले बताए ।


त्यस्तै मनाङका प्रशिक्षक फुजा तोपेले एपीएफको प्रर्दशन पछिल्लो क्रममा राम्रो रहेको र आफुहरुलाई राम्रो प्रदर्शन गर्न दबाब रहेको बताए । उनले उपाधि जित्ने गरी आफूहरुले खेल प्रदर्शन गर्ने पनि बताए।


एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा पहिलो क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिका  लागि १४ बर्षपछि फाइनलमा मनाङ संगको भेट पक्क गरेको हो ।


त्यस्तै मनाङ नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै सेमिफाइनल तथा बिहीबार भएको दोस्रो सेमिफाइनलमा टाइब्रेकरमा आर्मीलाई ४–३ ले हराउँदै १२ औं पल्ट फाइनलमा प्रवेश गरेको हो । मनाङले ६ पटक उपाधि जितिसकेको छ भने एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने दाउमा रहेको छ ।


सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।  प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।


प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा।लि।को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।


खेल शनिबार दिउँसो २ बजेपछि पोखरा रंगशालामा हुनेछ ।