इटहरी । स्वास्थ्य, वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘तरहरा कोरा २०२६’ च्यारिटी साइकल यात्रा साउन ९ गते (शनिबार) आयोजना हुने भएको छ।

तरहरा साइकलिङ क्लबको आयोजनामा ‘स्वास्थ्य, वातावरण, पर्यटनका लागि च्यारिटी साइकल यात्रा’ भन्ने नारासहित सञ्चालन हुने कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट करिब ४५० जना साइकलप्रेमी सहभागी हुने आयोजकले जनाएको छ। वर्षेनी सहभागिता बढ्दै गएको यस कार्यक्रमका लागि यस वर्ष करिब ६ लाख ५० हजार रुपैयाँ बजेट अनुमान गरिएको छ।

साइकल यात्रा बिहान ६ बजे तरहरा चोकबाट सुरु भई तरहराका विभिन्न मुख्य सडक तथा बस्ती हुँदै इटहरी–२० स्थित जनसहयोग माध्यमिक विद्यालयको गेटमा पुगेर समापन हुनेछ। यात्राको कुल दूरी २६.१ किलोमिटर रहनेछ।

कार्यक्रम तालिकाअनुसार बिहान ५ः३० बजे सहभागीहरूको उपस्थिती तथा तयारी, ६ः३० बजे उद्घाटनसहित साइकल यात्रा प्रारम्भ तथा बिहान १० बजेसम्म समापन कार्यक्रम, फिनिसर मेडल वितरण र सम्मान कार्यक्रम सञ्चालन गरिनेछ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य साइकलिङ संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि, पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामार्फत सकारात्मक सन्देश प्रवाह गर्नु हो। यसले स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

यस वर्षको कार्यक्रमअन्तर्गत निःशुल्क आँखा स्वास्थ्य शिविर, आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकका लागि निःशुल्क मोतियाबिन्दु शल्यक्रियाको पहिचान तथा सहजीकरण, सरकारी तथा सामुदायिक विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण, विपन्न परिवारका बालबालिकालाई आवश्यक सामग्री वितरण तथा Autism Screening Camp समेत सञ्चालन गरिनेछ।

सहभागीहरूको स्वास्थ्य सुरक्षाका लागि विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल आधिकारिक मेडिकल सपोर्ट पार्टनर रहनेछ। साथै तीनवटा एम्बुलेन्स, नेपाल रेडक्रस, स्थानीय स्वास्थ्य संस्था, मेडिकल टोली तथा स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ।

कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउन प्रदेश ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान, नगर प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय तरहरा तथा ट्राफिक प्रहरी चौकी तरहरासँग समन्वय गरिएको छ। साथै जिल्ला प्रशासन कार्यालय, सुनसरीबाट आवश्यक अनुमति प्राप्त भइसकेको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी सबैलाई आधिकारिक तरहरा कोरा टी–सर्ट, फिनिसर मेडल तथा अनलाइन ई–सर्टिफिकेट प्रदान गरिनेछ। संकलित च्यारिटी फण्ड स्वास्थ्य सेवासम्बन्धी सामाजिक कार्यमा खर्च गरिने आयोजकको भनाइ छ।

सन् २०२१ देखि सक्रिय तरहरा साइकलिङ क्लबले साइकलिङ संस्कृतिको विकास, स्वस्थ जीवनशैली, वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रमका संयोजक मदन बस्नेत तथा क्लबका अध्यक्ष सुरज क्षेत्री रहेका छन्।