IMG_8945इटहरी । मधेशको सामाजिक जीवन, सम्बन्ध, संघर्ष र प्रतिशोधलाई कथाको केन्द्रमा राखिएको नेपाली चलचित्र ‘प्रतिवैरम्’ले प्रदर्शनको मिति तय गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । निर्माण पक्षले फिल्मलाई आगामी मङ्सिर ४ गतेदेखि देशभर प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरले फिल्मको कथा गम्भीर र एक्सनप्रधान रहेको संकेत गर्छ । पोस्टरमा आगोको ज्वालालाई पृष्ठभूमिमा राखिएको छ भने मुख्य पात्र सम्राट दासलाई आक्रामक र संघर्षशील अवतारमा प्रस्तुत गरिएको छ । उनको अङ्गालोमा रहेकी सुप्रज्ञा शर्माको पात्रले भने फिल्ममा प्रेम, सम्बन्ध र भावनात्मक द्वन्द्वसमेत जोडिएको संकेत गर्छ ।

फिल्मको शीर्षकदेखि पोस्टरको रंग संयोजनसम्ममा ‘बदला’ र संघर्षको भावलाई प्राथमिकता दिइएको देखिन्छ । मधेशको सामाजिक परिवेशभित्रका कथा र पात्रलाई एक्सनसँग जोडेर प्रस्तुत गर्न खोजिएको निर्माण पक्षको भनाइ छ ।

रेज इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा सिम्पल एड मिडिया, श्रीयन इन्टरटेनमेन्ट र आदर्श प्रोडक्सन्सको सहकार्य रहेको छ । फिल्मको कथा तथा निर्देशन रोशन दासले गरेका छन् भने पटकथा तथा संवाद युवराज भट्टराईको हो ।

सत्यराज चौलागाईं ‘एसआरसी’ र हर्ष कुमार यादव निर्माता रहेको फिल्ममा अनिश पोखरेल को-प्रोड्युसर, विक्की साह एक्जिक्युटिभ प्रोड्युसर र राकेश साह क्रिएटिभ प्रोड्युसरका रूपमा छन् ।

फिल्मलाई कृष्ण बर्देवा ‘ज्याक’ले छायांकन गरेका हुन् । सम्पादन कबिर ओड र रङ संयोजन श्याम कुँवरको रहेको छ ।

‘प्रतिवैरम्’मार्फत सम्राट दासले नेपाली चलचित्रमा डेब्यु गर्दैछन् । उनीसँगै वीरेन्द्र सिंह कुशवाहा, अलिशा बास्तोला, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, प्रदीप ढकाल, नवीन श्रेष्ठ र नारायण बी.के. लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको अर्को विशेषता यसको बहुभाषिक प्रस्तुति हो । निर्माण पक्षका अनुसार ‘प्रतिवैरम्’ नेपालीसँगै हिन्दी, मैथिली र भोजपुरी भाषामा समेत दर्शकमाझ आउनेछ । मैथिली र भोजपुरी भाषामार्फत मधेशका स्थानीय दर्शकसम्म कथा पुर्‍याउने तथा हिन्दी संस्करणबाट सीमावर्ती भारतीय बजारसम्म पहुँच विस्तार गर्ने योजना निर्माण पक्षले बनाएको छ ।

मधेशको परिवेशमा जन्मिएको संघर्ष र त्यसबाट विकसित हुने सम्बन्ध तथा प्रतिशोधलाई पर्दामा कस्तो रूपमा प्रस्तुत गरिएको छ भन्ने कुरा भने मङ्सिर ४ गतेपछि दर्शकले हलमै हेर्न पाउनेछन् ।