काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक अवस्था र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्न आजदेखि राष्ट्रिय भेला आयोजना गर्दैछ । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने तीनदिने भेलाको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले दिउँसो १ बजे गर्ने कार्यक्रम छ ।
प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार आज उद्घाटन सत्र सम्पन्न भएपछि भेलाका बाँकी दुई दिन बन्दसत्र सञ्चालन हुनेछ । पूर्वमहामन्त्री डा। शशांक कोइरालाको संयोजकत्व तथा सभापतित्वमा हुने भेलामा देशभरबाट करिब ५ हजार नेता तथा कार्यकर्ता सहभागी हुने आयोजकले जनाएको छ ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको नेतृत्व तथा आधिकारिकतासम्बन्धी विवादमा पुनरवलोकनको अनुमति दिएपछि संस्थापन इतर समूह थप उत्साहित बनेको छ । यही पृष्ठभूमिमा आयोजना गरिएको भेलामा पार्टीको पछिल्लो आन्तरिक अवस्था, समसामयिक राजनीतिक परिस्थिति तथा आगामी राजनीतिक दिशाबारे विस्तृत छलफल गर्ने तयारी छ ।
भेलामा पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयदेखि आगामी राजनीतिक रणनीतिसम्मका विषयमा छलफल हुने बताइएको छ । साथै, भेलाबाट पार्टीको संगठनात्मक संरचना र आगामी कार्यदिशासँग सम्बन्धित महत्वपूर्ण निर्णय गर्ने तयारीसमेत रहेको आयोजक पक्षले जनाएको छ ।
यसैबीच, प्रतिनिधिसभा निर्वाचन छल्न विदेश गएको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा करिब साढे पाँच महिनापछि बुधबार स्वदेश फर्किएका थिए । स्वदेश फर्किएलगत्तै देउवा आज हुने राष्ट्रिय भेलामा प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन् ।
देउवाको उपस्थितिलाई समेत महत्वका साथ हेरिएको भेलामा पार्टीभित्र देखिएका पछिल्ला विवाद, नेतृत्वसम्बन्धी विषय र आगामी राजनीतिक चुनौतीबारे संस्थापन इतर समूहले आफ्नो धारणा स्पष्ट गर्ने अपेक्षा गरिएको छ ।




















