झापा । झापाको मेचीनगर नगरपालिकाले वर्षौँदेखि थाती रहेको बेरुजु फछ्र्योट गर्दै स्थानीय तहको वित्तीय अनुशासन सुधार्ने उद्देश्यले ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ । नगरपालिकाले पुराना बेरुजुसमेत व्यवस्थित रूपमा फछ्र्योट गर्दै आगामी दिनमा नयाँ बेरुजु सिर्जना हुन नदिने लक्ष्य लिएको छ ।
नगरपालिकाका अनुसार मेचीनगर स्थापना हुनुअघिका गाउँ विकास समितिको समयदेखि नै विभिन्न आर्थिक बेरुजु फछ्र्योट हुन बाँकी छन् । लामो समयसम्म बेरुजु नियमित रूपमा टुंगो नलाग्दा रकम वर्षेनी थपिँदै गएको भन्दै नगरपालिकाले चरणबद्ध रूपमा असुल तथा फछ्र्योट गर्ने योजना अघि सारेको हो ।
महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार मेचीनगर नगरपालिकाको उक्त आर्थिक वर्षमा मात्रै १४ करोड ९९ लाख ४ सय ३० रुपैयाँ बेरुजु देखिएको छ । यसअघि अद्यावधिक भई बाँकी रहेको बेरुजु ८१ करोड ३० लाख ४१ हजार ४ सय ८७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । यसरी आव २०८१/८२ सम्म नगरपालिकाको कुल बेरुजु ९६ करोड २९ लाख ९६ हजार ९ सय १७ रुपैयाँ पुगेको छ ।
नगरपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ८९ र ९० बमोजिम बेरुजु रकम दाखिला वा आवश्यक प्रमाण पेस गरी फछ्र्योट गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई सार्वजनिक सूचनामार्फत आग्रह गरिसकेको छ ।
तीन चरणमा अभियान सञ्चालन
प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार अभियानलाई चरणबद्ध रूपमा अघि बढाइनेछ । पहिलो चरणमा बेरुजु रहेका व्यक्ति तथा संस्थासँग प्रत्यक्ष सम्पर्क गरी रकम दाखिला गर्न वा आवश्यक प्रमाण तथा कागजात पेस गरेर बेरुजु फछ्र्योट गर्न समय दिइनेछ । दोस्रो चरणमा निर्माण व्यवसायी तथा उद्योगी–व्यवसायीको बेरुजु फछ्र्योटका लागि उनीहरू आबद्ध संघ–संस्थामार्फत सहजीकरण गरिनेछ । त्यसबाट पनि बेरुजु फछ्र्योट नभए तेस्रो चरणमा बेरुजु रहेका व्यक्ति तथा संस्थाको विवरण सार्वजनिक गर्ने नगरपालिकाको तयारी छ ।
नगरपालिकाले अभियानको उद्देश्य केवल बेरुजु रकम असुल गर्नु नभई स्थानीय तहको वित्तीय व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउनु रहेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार अभियान सुरु भएपछि लामो समयदेखि बेरुजु दाखिला वा फछ्र्योट नगरेका केही सरोकारवाला नगरपालिका सम्पर्कमा आउन थालेका छन् । कतिपयले पुरानो बेरुजु रकम फछ्र्योटसमेत गरिसकेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले निर्माण व्यवसायी, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा अन्य सम्बन्धित पक्षलाई आफ्नो नाममा रहेको बेरुजु विवरण यकिन गरी समयमै रकम दाखिला गर्न वा आवश्यक प्रमाण पेस गरेर फछ्र्योट गर्न आग्रह गरेको छ । वर्षौँदेखि थाती रहेको बेरुजु स्थानीय तहको वित्तीय व्यवस्थापनमा चुनौती बन्दै आएको अवस्थामा मेचीनगरले सुरु गरेको अभियानलाई आर्थिक अनुशासन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ । नगरपालिकाले पुरानो बेरुजु क्रमशः घटाउँदै ८८‘शून्य बेरुजु’८८को लक्ष्य हासिल गर्ने र आगामी दिनमा नयाँ बेरुजु सिर्जना हुन नदिने जनाएको छ ।




















