सुन्दरहरैचा (मोरङ) ।  सुन्दरहरैंचा नगरपालिका ७ को मापदण्ड बिपरितको अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गर्न स्थानीय बासिन्दाले टुन्डी कम्पनीलाई चेतावनी दिएका छन्। स्थानीय बासीले १५ दिन भित्र माग सम्बोधन नभए कम्पनी बन्द गर्ने समेतका कार्यक्रम अघि बढाउने जनाएको छ।

डाँडागाउँ टोल समितिको बैठकले बस्तीको बीचमा रहेको अलकत्रा प्लान्टले स्थानीय टोल बासिको जनस्वास्थ्य र वातावरणमा असर परेकोले तत्काल कम्पनी, सुन्दरहरैंचा नगरपालिका र वडा कार्यालयलाई ध्यानाकर्षण गराएकोमा कुनै सुनूवाई नभएकोले सो बिषयमा जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारी समेतलाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्।

 बस्तीको बीचमा १ किमि भित्र अलकत्रा प्लान्ट किन राखेको भन्ने स्थानिय बासिन्दाले जिज्ञासा राख्दा वडाले सिफारिस दिएको र नगरपालिका समेतबाट प्रक्रिया पूरा गरी स्थापना गरेको भनी कम्पनीका प्रमुख सस्मित पोखरेलले स्थानीय बासिन्दालाई ठाडो जवाफ दिएका थिए।

स्थानीय बस्तीमा अलकत्रा प्लान्ट स्थापना र दर्ताको लागि सिफारिस गर्ने वडा अध्यक्षको नियत माथि प्रश्न उठाई गैरकानुनी तबरले स्थापना भएको अलकत्रा प्लान्टको फोहोर, धुलो र धुवाँले स्थानीय बासिन्दा बिरामी हुन थालेपछि यसको जिम्मेवारी कसले लिने? अब घरदैलोको सरकारको रूपमा रहेका स्थानीय निकायले प्लान्ट बैध वा अवैध के हो अनुगमन गर्नुपर्ने र  कसैले पनि अमुक ब्यक्ति वा संस्थाको फाईदाका लागि नागरिकको संवैधानिक र वातावरणीय हक हनन गर्न नहुने स्थानीय बासिन्दाको माग छ। 

 डाँडागाँउ टोलको पश्चिमतर्फ एशियन हाइवे निर्माण गर्ने COVEC-CREGE- TUNDI JV  को अलकत्रा प्लान्टको धुलो धुवाँले स्थानीयको जनस्वास्थ्य र वातावरणमा असर पर्न थालेको छ।  बस्तीको बीचमा रहेको सो कम्पनी र वडाले टोलबासीका समस्या समाधानमा पहल र समन्वय गर्नुपर्ने, नगरे थप विरोध र आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय भएको स्थानीय बासिन्दा सानु कार्की बस्नेतले जानकारी दिनुभयो।