१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ । तिनै जिल्लामा शनिवार देखी जेठ १५ गतेसम्म पूर्ण निषेधाज्ञा कार्यान्वयन गराउन आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश १ ले सुरक्षाकर्मीलाई निर्देशन दिएको हो । प्रदेश सुरक्षा समितिको बैठकले तिन जिल्लामा कोरोनाको दोस्रो भेरियन्टको सङ्क्रमण र मृत्यु दर बढ्न सक्ने पूर्वानुमान गदै एकै प्रकृतिको निषेधाज्ञा कार्यान्वयन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको जनाइएको छ । यस्तै निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनालाई पनि सीमित सङ्ख्यामा परिचालन गर्ने भएको छ । निषेधाज्ञा पालना गराउन जिल्लाका सबै सहरमा जनचेतना जगाउने र माइकिङ गर्ने काममा सेना परिचालन हुनेछ । तिनै जिल्लामा निषेधाज्ञा पालनामा सर्वसाधारणले अटेर गरेको प्रदेश सुरक्षा समितिको निष्कर्ष छ ।

जिल्ला जोड्ने सीमा नाकामा सुरक्षाकर्मी थप गरेर भए पनि एक जिल्लाबाट अर्को जिल्ला आवत जावत गर्न समेत कडाइ गरिने पौडेलले बताउनुभयो । अब निषेधाज्ञा अवज्ञा गर्ने विरुद्ध कानुनी कारबाहीमा समेत जोड दिइने बैठकबाट निर्णय भएको छ । यस्तै बैठकबाट प्रदेश १ मा अक्सिजन अभाव हुन नदिन मन्त्रालयबाट कार्यदल गठन गर्ने निर्णय भएको छ । प्रदेशमा रहेका कोभिड अस्पतालमा अक्सिजन अभाव हुन नदिन उघोगीहरुलाई संलग्न गराई कार्यदल गठन गर्ने जनाइएको छ । अक्सिजनको लागि आवश्यक सिलिन्डर अभाव हुन नदिन बजारमा प्रहरी र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोली अनुगमनमा खटिन समेत निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय समेत गरेको सचिव पौडेलले बताउनुभयो । बैठकमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेना र जिल्लाका सबै प्रमुख जिल्ला अधिकारीको उपस्थिति थियो ।

निषेधाज्ञा आदेशलाई उल्लङ्घन गर्ने व्यक्ति उपर सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महिनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । यो ऐन अन्तर्गत काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय सम्म जरिबाना वा दुवै सजाय हुने जनाइएको छ ।