इटहरी । नेपाली चलचित्रप्रेमीका लागि नयाँ प्रेमकथा बोकेको चलचित्र ‘लज्जावती’ भोलि अर्थात् साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनको तयारी पूरा भएसँगै फिल्मको अग्रिम टिकट बुकिङसमेत खुला गरिएको निर्माण पक्षले जनाएको छ।
सामाजिक विषयवस्तुमा आधारित चलचित्र निर्देशन गर्दै आएका राजबहादुर साने यसपटक भने प्रेम र सम्बन्धका विभिन्न आयामलाई केन्द्रमा राखेर ‘लज्जावती’मार्फत दर्शकमाझ आउँदैछन्। फिल्मले प्रेममा आउने आकर्षण, पीडा, संघर्ष र सम्बन्धका उतारचढावलाई नेपाली परिवेशसँग जोडेर प्रस्तुत गर्ने निर्देशक सानेको भनाइ छ।
चलचित्रको कथा मुख्यतः मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझीका पात्र वरिपरि अघि बढ्छ। निर्माण पक्षका अनुसार फिल्मको शीर्षक पनि मुख्य कलाकारका नामसँग जोडिएको अवधारणाबाट तय गरिएको हो।
फिल्ममा मुकुन भुसालले रिक्सा चलाएर जीविकोपार्जन गर्ने युवाको भूमिका निर्वाह गरेका छन्। उनको पात्र भट्टी साउनीसँग नजिकिँदै जाँदा कथाले प्रेमको फरक पाटो समेट्छ। सामाजिक कथावस्तुमा फरक–फरक भूमिकामा देखिँदै आएका मुकुनका लागि ‘लज्जावती’ पहिलो प्रेमकथामा आधारित चलचित्रसमेत हो।
यता श्रीकृष्ण निरौला ‘पागलप्रेमी’ पात्रका रूपमा प्रस्तुत भएका छन्। पहिलो प्रेमसँग जोडिएको पीडा, भावना र उतारचढाव उनको भूमिकामार्फत देखाइने निर्माण पक्षले जनाएको छ। ‘सिटामोल’मा सहायक भूमिका निर्वाह गरेका श्रीकृष्णका लागि ‘लज्जावती’ मुख्य भूमिकामा रहेको दोस्रो चलचित्र हो।
जानुका विश्वकर्मा भट्टी साउनीको भूमिकामा मुकुनको जोडीका रूपमा देखिँदा मेनुका माझी श्रीकृष्णकी प्रेमिकाको भूमिकामा प्रस्तुत भएकी छन्। दुवै अभिनेत्रीले मुख्य भूमिकामा काम गरेको यो पहिलो अनुभव भएकाले उनीहरू चलचित्रप्रति उत्साहित छन्।
चलचित्रमा विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, दीपक थापा र काजल भुजेललगायत कलाकारको समेत अभिनय रहेको छ।
प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले प्रचारप्रसारलाई पनि तीव्रता दिएको छ। मिडिया, विद्यालय तथा विभिन्न कमेडी शोमा पुगेर चलचित्रबारे जानकारी गराइरहेको निर्माण पक्षले जनाएको छ। यसअघि सार्वजनिक भएका पोस्टर, टिजर र ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको दाबी निर्माण टिमको छ।
चलचित्रका ‘दिलको मोटर’ र ‘मलाई पिर परेको’ बोलका गीतले पनि दर्शकमाझ चर्चा बटुलेका छन्। प्रचारका क्रममा प्राप्त प्रतिक्रियाले उत्साहित बनेको निर्माण पक्षले हलमा पनि दर्शकको साथ पाउने अपेक्षा गरेको छ।
करिब दुई करोड रुपैयाँको लगानीमा निर्माण भएको ‘लज्जावती’बाट निर्माता कमलप्रसाद शर्मा आशावादी छन्। कथा मन परेकै कारण फिल्ममा लगानी गरेको बताउँदै उनले प्रचार सामग्रीप्रति दर्शकको प्रतिक्रियाले आफूहरूलाई थप उत्साहित बनाएको बताएका छन्।
आहा फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन् भने कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेका छन्। भोलिबाट प्रदर्शनमा आउने ‘लज्जावती’ले नेपाली प्रेमकथामा कस्तो प्रभाव छोड्छ भन्ने कुरा भने दर्शकको प्रतिक्रियापछि तय हुनेछ।




















