काठमाडौं । मिकेल मेरिनोको इन्जुरी समयको निर्णायक गोलमा स्पेनले पोर्चुगललाई पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डलास स्टेडियममा सम्पन्न राउन्ड अफ १६ को प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो।

दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्णय अन्तिम समयमा भएको थियो। दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै मिकेल मेरिनोले गोल गरे। त्यही एक गोल स्पेनलाई जित दिलाउन पर्याप्त बन्यो।

खेलभर स्पेनले आक्रामक प्रदर्शन गर्दै बल नियन्त्रण र गोलतर्फको प्रयासमा पनि पोर्चुगलमाथि स्पष्ट दबाब बनाएको थियो। पोर्चुगलले बराबरी गोलका लागि अन्तिम समयसम्म प्रयास गरे पनि स्पेनको रक्षापंक्ति मजबुत रहँदा सफलता हात पार्न सकेन।

यस जितसँगै स्पेनले १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ। सन् २०१० मा विश्वकप उपाधि जितेपछि स्पेन पहिलो पटक अन्तिम आठमा पुगेको हो। त्यसयता २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ का दुवै विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो।

यता, सन् २०२२ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको पोर्चुगल भने यसपटक अन्तिम १६ बाटै बाहिरिँदै प्रतियोगिताबाट विदा भएको छ। क्वार्टरफाइनलमा स्पेनले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। दुई युरोपेली शक्तिबीचको यो भेट विश्वकपको सबैभन्दा प्रतीक्षित खेलमध्ये एक हुने अपेक्षा गरिएको छ।