केशव सिग्देल (पवन)
इटहरी । नेपाली युवापुस्ताको बोलीचालीमा साथीभाइबीचको झन्झट, दबाब र तनावलाई जनाउन प्रयोग हुने शब्द ‘ल्याङ्ग ल्याङ्ग’ अब पर्दामा पनि सुनिने भएको छ । यही युवा मनोविज्ञान र जेनजी पुस्ताको जीवनशैलीलाई कथाको केन्द्रमा राखेर सोही नाममा नयाँ नेपाली चलचित्र निर्माण हुने भएको हो ।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा नवोदित अभिनेत्री गुराँस ढकाल मुख्य भूमिकामा देखिने भएकी छन् । निर्माण टिमसँग बुधबार सम्झौता गरेसँगै उनी चलचित्रको एक्ली मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी हुन् ।
चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा छोरीले डेब्यु गर्ने भएपछि गुराँसकी आमा रिना ढकालले सामाजिक सञ्जालमार्फत भावुक हुँदै खुसी व्यक्त गरेकी छन् । उनले गुराँसलाई सात महिनाको उमेरदेखि नै आफूले नाटक तथा स्टेज कार्यक्रमहरूमा सँगै लैजाने गरेको स्मरण गरेकी छन् ।
आमाले छोरीलाई बाल्यकालदेखि नै कलाकार बनाउने सपना देखेको उल्लेख गर्दै यो अवसरलाई त्यसै सपनातर्फको पहिलो कदमका रूपमा लिएकी छन् । उनले छोरीको आगामी यात्रामा आफू सधैँ साथमा रहने भावसमेत व्यक्त गरेकी छन् ।
गुराँस भने अभिनयमा नयाँ भए पनि पर्दामा आउने तयारीका लागि लामो समयदेखि आफूलाई तयार पार्दै आएकी छन् । उनले अभिनेता सञ्जोग रसाइलीसँग ‘एक्टर्स हब’मा अभिनय, चरित्र निर्माण तथा प्रस्तुतीकरणसम्बन्धी प्रशिक्षण लिएकी छन् ।
मुख्य भूमिकामा उनको यो पहिलो चलचित्र भए पनि गुराँसका लागि अभिनयको अनुभव भने नयाँ होइन । उनले यसअघि विभिन्न विज्ञापन तथा म्युजिक भिडियोमा काम गरिसकेकी छन् । साथै, हरर चलचित्र ‘मम्मी’मा समेत उनले सहायक भूमिका निर्वाह गरेकी थिइन् ।
बाल्यकालदेखि नै क्यामेरा र अभिनयप्रति रुचि राख्दै आएकी गुराँसका लागि ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिका औपचारिक रूपमा ठूलो पर्दाको यात्रा सुरु गर्ने अवसर बनेको छ । चलचित्रले जेनजी पुस्ताको सोच, सम्बन्ध, साथीभाइबीचको व्यवहार र उनीहरूले भोग्ने मानसिक दबाबलाई कसरी प्रस्तुत गर्छ भन्ने विषयलाई भने दर्शकको प्रतीक्षाको विषय बनाएको छ ।




















