इटहरी । नेपाली चलचित्रको घोषणा शैलीमा केही फरकपन देखाउँदै निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘शुभ विवाह’ सार्वजनिक गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा फिल्मको घोषणा मात्र भएन, मुख्य कलाकार प्रदीप खड्का र सनिशा भट्टराईले औंठी साटेर फिल्मको शीर्षकलाई नै कार्यक्रमको मुख्य आकर्षण बनाइदिए ।
रोमान्टिक कथामा निर्माण हुन लागेको फिल्ममा प्रदीप र सनिशाको नयाँ जोडी प्रस्तुत हुँदैछ । यसअघि ‘प्रेम गीत’मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्का फेरि एकसाथ आउन लागेकाले पनि ‘शुभ विवाह’प्रति दर्शकको चासो बढ्ने देखिएको छ ।
कार्यक्रममार्फत फिल्मको निर्माण कम्पनी ‘प्रियादर्शन फिल्मस्’ पनि सार्वजनिक गरिएको छ । निर्माण पक्षका अनुसार फिल्मको तयारी अन्तिम चरणमा पुगिसकेको छ र छायांकन चाँडै सुरु हुनेछ । फिल्मलाई आगामी फागुन २१ गतेदेखि देशभर प्रदर्शन गर्ने तयारी छ ।
‘शुभ विवाह’मा प्रदीप र सनिशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकार देखिनेछन् ।
सुप्रिया कटुवालको निर्माण तथा साम भुजेलको कार्यकारी निर्माणमा बन्ने फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् । पटकथा तथा संवाद रामशरण पाठकको छ ।
अर्जुन पोखरेलको संगीत रहने फिल्ममा रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहनेछ । साहिल खानले ट्रेलर सम्पादन, राजेन्द्र मोक्तानले कलर ग्रेडिङ र विक्रम स्वारले नृत्य निर्देशन गर्नेछन् । बसन्त अधिकारी मुख्य सहायक निर्देशकका रूपमा जोडिएका छन् भने साजन कट्टेल र प्रार्थना पाठक सहायक निर्देशक छन् ।
फिल्मको घोषणा नै ‘विवाह’को झल्को दिने शैलीमा गरिएपछि अब पर्दामा प्रदीप–सनिशाको ‘शुभ विवाह’ कस्तो देखिने हो भन्ने उत्सुकता दर्शकमाझ थपिएको छ ।




















