थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ एसियाकै उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । उनी साताकै उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा पर्न सफल भएका हुन् । 

एसियाली फुटबल महासंघ ९एएफसी० ले बिहीबार सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसहित १० खेलाडी रहेका छन् । यो स्तरमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

उनीसँगै उत्कृष्ट १० मा यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका छन् । 

दुई वर्षअघि कप्तान बनेका किरणको नेतृत्वमा नेपालले पहिलो उपाधि हात पारेको हो । त्यसको दुई दिनअघि मात्रै उनी भारतको आई लिगकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए । 

उनले क्लब फुटबलमा नेपालको सहिद स्मारक ए डिभिजन लिग, माल्दिभ्सको धिवेही लिग र भारतको आई लिगको उपाधि जितेका छन् । र, त्रिदेशीय लिग जित्ने उनी पहिलो नेपाली हुन् । 

पछिल्लो साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको पनि एएफसीले जनाएको छ । एएफसीको वेबसाइटमार्फत गर्ने भोटको आधारमा विजेताको चयन गरिनेछ ।

नेपालले दशरथ रंगशालामा भएको सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्स कपको उपाधि जितेको थियो ।