इटहरी । बंगालको खाडीमा विकसित हुँदै गएको न्यूनचापीय प्रणालीका कारण आगामी असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। केही क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेकाले पूर्वतयारी र सतर्कता अपनाउन सुझाव दिइएको छ।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलको विश्लेषण गर्दा असोज ८ देखि १२ गतेसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना देखिएको छ।

उनका अनुसार केही पूर्वानुमान मोडेलले उक्त अवधिमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने संकेत गरेका छन्। केही मोडेलमा भने ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। यद्यपि यस्तो वर्षा देशभर समान रूपमा हुने नभई निश्चित स्थानमा केन्द्रित हुन सक्ने उनको भनाइ छ।

पोखरेलले सामाजिक सञ्जालमार्फत सम्भावित जोखिमबारे समयमै जानकारी गराउनुको उद्देश्य त्रास फैलाउनु नभई आवश्यक तयारीका लागि सचेत गराउनु रहेको बताएका छन्।

उनका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन बाहिरिने क्रममा विकसित हुने सुक्खा हावाको प्रभावले बंगालको खाडीबाट अघि बढ्ने न्यूनचापीय प्रणालीको दिशा र गतिमा परिवर्तन ल्याउन सक्छ। यसको प्रभाव नेपालका केही भूभागमा ठूलो वर्षाका रूपमा देखिन सक्ने सम्भावना रहेको उनले बताएका छन्।

मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बंगालको खाडीमा विकसित भइरहेको प्रणालीलाई गम्भीर रूपमा निगरानी गर्नुपर्ने बताएका छन्।

उनका अनुसार अहिले उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडेलले असोज ८ देखि ११ गतेसम्म वर्षाको अवस्था देखाएका छन्। विशेषगरी असोज १० गते आसपास जोखिम बढी हुन सक्ने संकेत देखिएको उनको भनाइ छ।

यद्यपि उनले हालको पूर्वानुमानलाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने बताएका छन्। मौसम प्रणालीको दिशा, शक्ति र विकासक्रममा आउने परिवर्तनसँगै वर्षाको सम्भावित मात्रा र प्रभाव पनि बदलिन सक्ने भएकाले थप केही दिनको अवस्था हेर्नुपर्ने उनको सुझाव छ।

b

उपाध्यायले विगतमा शक्तिशाली देखिएको मौसमी प्रणाली नेपाल प्रवेश गर्दा कमजोर भएका उदाहरणसमेत रहेको उल्लेख गर्दै अहिले नै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन्।

उनले असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा सकेसम्म स्थगित गर्नु उपयुक्त हुन सक्ने सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागले भने बंगालको खाडीमा विकसित भइरहेको प्रणालीको निरन्तर निगरानी भइरहेको जनाएको छ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस्ता मौसमी प्रणालीको दिशा र शक्ति परिवर्तन भइरहने भएकाले अहिले नै यसको प्रभावबारे ठोस निष्कर्ष निकाल्न कठिन हुन्छ।

उनले प्रणाली कहिलेकाहीँ डिप्रेसनको अवस्थामै कमजोर भएर हराउन सक्ने वा आफ्नो दिशा परिवर्तन गर्न सक्ने बताए। त्यसैले आगामी केही दिनमा प्रणालीको विकासक्रम हेरेपछि मात्र नेपालमा पर्ने प्रभावबारे थप स्पष्ट जानकारी दिन सकिने विभागको भनाइ छ।

b


सामाजिक सञ्जालमा असोज ८ देखि १२ गतेसम्म ठूलो वर्षा हुने चर्चा भइरहे पनि वर्षाको निश्चित मात्रा, कुन क्षेत्रमा बढी प्रभाव पर्छ र जोखिमको स्तर कति हुन्छ भन्ने विषयमा अहिले नै अन्तिम निष्कर्ष निकाल्न हतार गर्न नहुने विभागले जनाएको छ।

सम्भावित रूपमा ठूलो वर्षा भएमा जनजीवनसँगै कृषि क्षेत्रमा पनि असर पर्न सक्ने मौसमविद्हरूले बताएका छन्।

विशेषगरी पाक्ने अवस्थामा पुगेको धानबालीमा वर्षा र हावाहुरीको असर पर्न सक्ने भएकाले किसानलाई समेत मौसमको पछिल्लो सूचना हेरेर आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

भारतीय मौसम विभागका अनुसार उत्तर थाइल्यान्ड तथा म्यानमार आसपासको मौसमी गतिविधिका कारण आगामी ४८ घण्टाभित्र उत्तर अण्डमान सागरमा न्यूनचापीय क्षेत्र विकास हुन सक्ने सम्भावना छ।

यो प्रणाली त्यसपछि बंगालको खाडीको मध्य भागतर्फ अघि बढ्न सक्ने र सेप्टेम्बर २२ सम्ममा डिप्रेसन वा डिप डिप्रेसनमा विकसित हुन सक्ने अनुमान गरिएको छ।

प्रणाली थप शक्तिशाली भएर चक्रवातमा परिणत भएमा भारतको पूर्वी तटीय क्षेत्र, विशेषगरी आन्ध्र प्रदेश, ओडिसा र पश्चिम बंगालतर्फ पनि यसको प्रभाव पर्न सक्ने भएकाले निगरानी बढाइएको छ।

यदि यो प्रणाली चक्रवातमा परिणत भयो भने सन् २०२६ मा उत्तर हिन्द महासागर क्षेत्रमा बन्ने पहिलो उष्णकटिबन्धीय चक्रवात हुनेछ। विश्व मौसम संगठनको नामकरण सूचीअनुसार त्यसको नाम ‘अर्नब’ राखिनेछ। ‘अर्नब’ नाम बंगलादेशले प्रस्ताव गरेको हो।

अहिले भने प्रणालीको विकासक्रमलाई नजिकबाट नियाल्ने क्रम जारी रहेकाले नेपालमा यसको वास्तविक प्रभावबारे आगामी दिनमा थप स्पष्ट हुने मौसमविद्हरूको भनाइ छ।