काठमाडौं । साहित्य र संस्कृतिको माध्यमबाट नेपाल र चीनबीचको सम्बन्धलाई थप नजिक बनाउने उद्देश्यसहित चीनको १४ सदस्यीय साहित्यिक तथा सांस्कृतिक टोली काठमाडौं आइपुगेको छ।

लु छुन कल्चरल फाउन्डेसनका अध्यक्ष झाउ लिङफेईको नेतृत्वमा आएको टोलीलाई एसएस फाउन्डेसनले काठमाडौंमा विशेष समारोह आयोजना गरी स्वागत तथा सम्मान गरेको छ।

स्वागत समारोहमा एसएस फाउन्डेसनका संरक्षक शोभित उप्रेती र अध्यक्ष मदनदास श्रेष्ठले चिनियाँ सर्जकहरूको नेपाल भ्रमणले दुई देशबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनीहरूले नेपाल र चीनबीच कला, साहित्य, संस्कृति तथा सभ्यताको लामो सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई थप मजबुत बनाउन आपसी सहकार्य र सहयोग आवश्यक रहेको धारणा राखे।

02d5fc60-ddaf-432f-ac07-e6d2d7d6e286

कार्यक्रमलाई नेपाली मौलिक कला र संस्कृतिले समेत विशेष बनाएको थियो। चिनियाँ पाहुनाहरूको स्वागतमा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली तथा नेवारी गीत–संगीत प्रस्तुत गरिएको थियो। नेपाली सांस्कृतिक प्रस्तुतिले दुई देशका कला र परम्पराबीचको आत्मीयता उजागर गरेको थियो।

काठमाडौं भ्रमणका क्रममा चिनियाँ साहित्यिक टोलीले पाटन दरबार क्षेत्रसहित उपत्यकाका विभिन्न ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको अवलोकनसमेत गरेको छ।

साहित्यिक तथा सांस्कृतिक आदानप्रदानलाई प्राथमिकता दिँदै गरिएको यस भ्रमणले नेपाल र चीनबीच सिर्जनात्मक सहकार्य, सांस्कृतिक समझदारी र जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।