इटहरी  । चलचित्र ‘पाँच पाण्डव’लाई लिएर यसअघि सामाजिक सञ्जालमा उठेका धार्मिक विवाद र आशंकाबीच हिन्दु धर्मगुरुहरूले चलचित्र हेरेपछि सकारात्मक प्रतिक्रिया दिएका छन् । सोमबार चलचित्र हेरेका धर्मगुरुहरूले फिल्ममा हिन्दू धर्म, महाभारत तथा धार्मिक आस्थामाथि चोट पुर्‍याउने कुनै पनि विषय नरहेको स्पष्ट पारेका हुन् ।

चलचित्रको पोस्टर र ट्रेलर सार्वजनिक भएपछि केही दृश्य तथा पात्रको प्रस्तुतिलाई लिएर उनीहरूले असन्तुष्टि जनाएका थिए । विशेषगरी पोस्टरमा द्रौपदी पात्रको उल्लेख र ट्रेलरका केही दृश्यले धार्मिक विषयलाई गलत ढङ्गले प्रस्तुत गर्न खोजिएको हुन सक्ने आशंका उनीहरूको थियो ।

899730290_1393330129316939_404999452656702198_n

तर, चलचित्र हेरेपछि भने आफ्नो प्रारम्भिक बुझाइ गलत रहेको उनीहरूले स्वीकार गरेका छन् । फिल्ममा द्रौपदी पात्र नै नरहेको र हिन्दू धर्म, महाभारत, पाण्डव, भगवद्गीता लगायतका धार्मिक पक्षलाई अपमान गर्ने कुनै प्रसङ्ग नरहेको उनीहरूको भनाइ छ ।

धर्मगुरुहरूले चलचित्रले धार्मिक आस्थामा ठेस पुर्‍याउनेभन्दा पनि सामाजिक विषयलाई कलात्मक रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिँदै सबैले हेर्नुपर्ने बताएका छन् ।

बसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय छ । चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकार पनि महत्त्वपूर्ण भूमिकामा छन् ।

Aston.jpg

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन् । उनले चलचित्रलाई सामाजिक कथामा आधारित रहेको बताउँदै महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजका घटनाक्रम तथा यथार्थलाई प्रस्तुत गरिएको बताएका छन् ।

श्याम तामाङको छायाङ्कन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र गम्भीर विष्ट तथा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ ।

ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ भने आरआर फिल्मसले देशव्यापी वितरण गरेको छ ।