काठमाडौं । फोटोपत्रकारितामा रङ, संयोजन र कलात्मक पक्षको महत्वबारे जानकारी गराउने उद्देश्यले काठमाडौंमा एकदिने ‘रङ र कला फोटोग्राफी’ कार्यशाला सम्पन्न भएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको आयोजना तथा सहिद शुक्र माध्यमिक विद्यालयको कला विभागको सहकार्यमा भएको कार्यशालामा फोटोपत्रकारहरूलाई फोटोग्राफीमा रङको प्रयोग, रङ संयोजन, फोटोको सौन्दर्य तथा मुद्रण प्रविधिका विषयमा प्रशिक्षण दिइएको थियो।
अग्रज कलाकार तथा कला प्रशिक्षक अशोकमान सिंहले सहभागीलाई रङको वैज्ञानिक तथा प्राविधिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले डिजिटल स्क्रिनमा देखिने रङ र मुद्रणपछि प्राप्त हुने रङमा फरक हुने भएकाले फोटोग्राफरले यसको प्राविधिक पक्ष बुझ्न आवश्यक रहेको बताउनुभयो।

‘रङ’ पुस्तकका लेखकसमेत रहनुभएका सिंहले एउटा उत्कृष्ट फोटो प्रकाशनका लागि फोटोग्राफीसँगै डिजाइन, लेआउट, कागज छनोट, सीटीपी र मुद्रण प्राविधिकको दक्षता आवश्यक पर्ने उल्लेख गर्नुभयो। उहाँले राम्रो फोटोग्राफ तयार हुनु सामूहिक प्रयासको परिणामसमेत भएको बताउनुभयो।
कलाकार केशवराज खनालले डिजिटल क्यामेराबाट दृश्य कैद गर्नु र रङमार्फत चित्र निर्माण गर्नु कलाका महत्वपूर्ण पक्ष भएको बताउनुभयो। फोटोग्राफरले आफ्नो विषयलाई प्रभावशाली र विशिष्ट बनाउन रङ तथा फोटो संयोजनको उचित प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव तथा प्राज्ञ देवेन्द्र थुम्केलीले फोटोग्राफी र फोटोपत्रकारिता समसामयिक कलाको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो। यस्ता कार्यशालाले विभिन्न कला विधामा सक्रिय व्यक्तिबीच सहकार्य र ज्ञान आदानप्रदानको वातावरण बनाउने उहाँले उल्लेख गर्नुभयो।
उहाँले फोटोग्राफी विधाको विकासका लागि सम्बन्धित संघसंस्थालाई थप सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो।
एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले छोटो तयारीमा आयोजना गरिएको भए पनि कार्यशाला उपलब्धिमूलक बनेको बताउँदै फोटोपत्रकारको क्षमता विकासका कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने जानकारी दिनुभयो।
कार्यशालाका संयोजक फोटो पत्रकार सागर बस्नेतले लामो समयदेखि फोटोग्राफीमा सक्रिय व्यक्तिका लागि पनि यस्ता प्रशिक्षणले नयाँ ज्ञान र ऊर्जा प्रदान गर्ने बताउनुभयो। उहाँले आगामी दिनमा आर्ट फोटोग्राफीका अन्य आयाममा समेत केन्द्रित तालिम सञ्चालन गरिने जानकारी दिनुभयो।




















