इटहरी । प्रदर्शन मिति नजिकिँदै गर्दा नेपाली चलचित्र ‘जलाकी’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । चलचित्रको नयाँ रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक गर्दै निर्माण पक्षले दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता थप बढाउने प्रयास गरेको छ । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको गीतमा मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देनलाई प्रेमिल अवतारमा देख्न सकिन्छ ।
रोहित सोनार र मेलिना राईको स्वरमा सजिएको गीतमा राम अबिरल बिष्टको शब्द तथा सरित रायनको संगीत रहेको छ । प्रेमी–प्रेमिकाबीचको आकर्षण, आत्मीयता र प्रेम सम्बन्धलाई केन्द्रमा राखिएको गीतको भिडियोमा उपासना र सोनमको जोडी आकर्षक देखिएको छ । उनीहरूको आपसी केमेस्ट्रीले गीतलाई थप रोमान्टिक बनाएको छ ।
गीतको भिडियोमा शिल्पा मास्के, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू र दीपिका मगरलगायतका कलाकार पनि देखिएका छन् । कलाकारहरूको पहिरन, प्रस्तुति र स्वाभाविक अभिनयले भिडियोमा थप रौनक थपेको छ ।
‘खुस्मा’बाट दर्शकमाझ परिचित बनेका निर्देशक अशोक थापा मगरको निर्देशनमा तयार भएको ‘जलाकी’को यो पाँचौँ प्रचारात्मक गीत हो । यसअघि चलचित्रका ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’ र ‘कलेजीको छेउ’ बोलका गीत सार्वजनिक भइसकेका छन् । ती गीतले युट्युब र टिकटकजस्ता डिजिटल प्लेटफर्ममा दर्शकको ध्यान आकर्षित गरिसकेका छन् ।

रोमान्टिक गीतमार्फत प्रेमको पक्ष उजागर गरिरहेको चलचित्रले भने मौलिक संस्कृति र सामाजिक सम्बन्धलाई पनि कथामा समेटेको छ । ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र प्रेमको प्रतीकका रूपमा लिइने ढुङ्गाबाट निर्मित स्तम्भलाई जनाउने शब्द हो । यही सांस्कृतिक प्रतीकलाई कथाको मूल आधार बनाएर मगर तथा गुरुङ समुदायको रहनसहन, परम्परा, जीवनशैली र भावनात्मक पक्षलाई पर्दामा उतारिएको निर्देशक मगरले बताएका छन् ।
चलचित्रमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायतको अभिनय रहेको छ ।
त्यस्तै, चलचित्रमा क्याप्टेन विजय लामाको विशेष भूमिका रहनेछ । बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर पनि देखिनेछन् । यसै चलचित्रमार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्र क्षेत्रमा अभिनय यात्रा सुरु गरेकी छन् ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले गर्नेछन् ।
प्रेमकथा, मौलिक संस्कृति र मानवीय संवेदनालाई एकैसाथ प्रस्तुत गर्ने लक्ष्य राखेको ‘जलाकी’ मंसिर ४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ ।




















