इटहरी । प्रेम, संस्कृति र पुस्तान्तरणको कथालाई समेटेर निर्माण गरिएको नेपाली चलचित्र ‘जलाकी’ले आफ्नो प्रचार अभियानलाई तीव्र बनाएको छ । दर्शकमाझ प्रतीक्षित रहेको चलचित्रको ट्रेलर शुक्रबार ललितपुरस्थित लबिम मलमा विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

‘खुस्मा’बाट दर्शकमाझ चर्चा कमाएका निर्देशक अशोक थापा मगरले यसपटक मगर र गुरुङ समुदायको मौलिक संस्कृति तथा सामाजिक जीवनलाई प्रेमकथासँग जोडेर प्रस्तुत गरेका छन् । चलचित्रमा उपासना सिंह ठकुरी र सोनाम तोप्देन मुख्य भूमिकामा छन् ।

Screenshot 2026-11-02 at 4.10.09 PM

सार्वजनिक ट्रेलरले कलेज जीवनको चञ्चल प्रेमदेखि समयसँगै बदलिँदै जाने सम्बन्ध र भावनात्मक संघर्षसम्मको कथा संकेत गरेको छ । उपासना र सोनामबीचको आकर्षक केमेस्ट्रीसँगै उपासनाको अभिनयले ट्रेलरमा विशेष ध्यान खिचेको छ ।

चलचित्रको नाम ‘जलाकी’ आफैँमा सांस्कृतिक अर्थ बोकेको शब्द हो । मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा गाडिने ढुङ्गाको स्तम्भलाई जलाकी भनिन्छ । यही सांस्कृतिक विम्बमार्फत निर्देशकले प्रेम, सम्बन्ध, परम्परा र पुस्तान्तरणका विषयलाई चलचित्रमा समेटेका छन् ।

ट्रेलर सार्वजनिक हुनुअघि नै चलचित्रका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीत तथा टिजर सार्वजनिक भइसकेका छन् । गीतसंगीतले दर्शकमाझ बनाएको उत्सुकतापछि ट्रेलरले चलचित्रप्रतिको चासो थप बढाउने निर्माण पक्षको अपेक्षा छ ।

Aston.jpg

चलचित्रमा उपासना र सोनामसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खबपु, लुनिभा तुलाधर, संगीता थापा, क्याप्टेन विजय लामा लगायत कलाकारको अभिनय रहेको छ ।

यसै चलचित्रमार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी छन् । एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचनलगायतले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

चलचित्रको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले गर्नेछन् । मौलिक संस्कृति, प्रेम र सामाजिक सम्बन्धको संयोजन रहेको ‘जलाकी’ले नेपाली चलचित्रमा सांस्कृतिक कथावाचनको नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।