इटहरी/ यसपटक कमेडीभन्दा फरक चरित्रमा देखिने तयारीमा रहेका अभिनेता जितु नेपालको नयाँ फिल्म ‘पाँच पाण्डव’ अहिले चर्चामा छ । फिल्ममा उनी महाभारतका पाँच पाण्डवमध्येका एक भीमसेनको नामबाट चिनिने पात्रको भूमिकामा छन् । तर, पर्दामा देखिने उनको भीमसेन महाभारतमा कल्पना गरिने बलशाली भीमको प्रतिरूप भने होइनन् । बरु, समकालीन नेपाली समाजको परिवेशमा महाभारतका पात्र र बिम्बलाई जोडेर तयार गरिएको कथाका एक रोचक पात्र हुन् ।
यही कारण पनि फिल्मको ट्रेलर सार्वजनिक भएपछि जितुको भीमसेन चरित्रबारे दर्शकमाझ चासो बढेको छ । ट्रेलरमा अभिनेता हरिवंश आचार्यले उनलाई ‘भीम’ भनेर सम्बोधन गर्दा जितुले ‘म त भीमसेन हो’ भन्ने जवाफ दिएको दृश्यले थप कौतूहल सिर्जना गरेको छ । आखिर जितु कसरी भीमसेन बने त ? जितुका अनुसार फिल्मको कथामा स्वर्गमा रहेका युधिष्ठिर आफ्ना चार भाइबिना खुसी छैनन् । लामो समय बितिसक्दा पनि भाइहरूको सम्झनाले सताइरहेपछि उनीहरू कुनै न कुनै रूपमा पुनः जन्मिएका हुन सक्ने कल्पना गर्छन् ।
भगवानले उनका भाइहरू नेपाल नगरीमा रहेको बताएपछि युधिष्ठिर उनीहरूको खोजीमा नेपाल आउँछन् । त्यसपछि भेटिएका पात्रलाई उनले भीम, अर्जुन र नकुलका रूपमा चिनाउँछन् । यही प्रसङ्गबाट जितुको चरित्र भीमसेनका रूपमा परिचित हुन्छ । ‘मैले आफैं भीम हुँ भनेको होइन । युधिष्ठिरले नै तँ भीम होस् भनेर चिनाउनुहुन्छ । हामी केवल पाण्डवको एउटा अंश मात्र हौं’, जितु भन्छन् । भीम भन्नेबित्तिकै दर्शकले ठूलो र बलियो शरीरको कल्पना गर्ने भए पनि भीम सानो हुनै नहुने भन्ने नरहेको उनको तर्क छ ।

रोचक कुरा त के छ भने, भीमसेनको नामसँग जोडिएको चरित्र निर्वाह गर्न जितुले कुनै विशेष शारीरिक तयारीसमेत गरेका छैनन् । फिल्ममा उनी इँटाभट्टामा काम गर्ने मजदुरको भूमिकामा छन् । आफू पूर्ण भीमसेन नभई पाण्डवको एउटा अंश मात्र भएकाले कथाको आवश्यकता र निर्देशकको निर्देशनअनुसार अभिनय गरेको उनले बताएका छन् । महाभारत र पाण्डवका चरित्रलाई आधार बनाएर तयार गरिएको कथाको हिस्सा बन्न पाउँदा भने जितु उत्साहित छन् । यस फिल्ममा उनले अभिनेत्री दीपाश्री निरौलासँग श्रीमान्–श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।
यसअघि विज्ञापनमा सँगै काम गरे पनि पर्दामा यस्तो सम्बन्धको भूमिका निर्वाह गर्नु उनका लागि नयाँ अनुभव बनेको छ । त्यस्तै, अभिनेता हरिवंश आचार्यसँग पहिलोपटक स्क्रिन सेयर गर्न पाउनु पनि जितुका लागि विशेष रह्यो । युधिष्ठिरको भूमिकामा रहेका हरिवंशसँगका दृश्य र संवादले आफूलाई फरक अनुभव दिएको उनी बताउँछन् । ठूलो कलाकार समूहको हिस्सा बनेर आफूलाई कसरी प्रस्तुत गर्ने र दर्शकले कुन रूपमा सम्झिने भन्ने विषय पनि उनका लागि चुनौतीपूर्ण थियो ।
जितु नेपाल भन्नेबित्तिकै दर्शकले कमेडी खोज्नु स्वाभाविक हो । उनी स्वयं पनि यो अपेक्षालाई स्वीकार गर्छन् । ‘पाँच पाण्डव’मा दर्शकले आफ्नो कमेडीको स्वाद केही हदसम्म पाउने उनको भनाइ छ । यद्यपि, फिल्म पाँच जना भाइको कथा भएकाले हरेक पात्रका आ–आफ्नै कथा र विशेषता छन् । त्यसैले कथाले मागेका दृश्यमा मात्रै कमेडी प्रस्तुत गरिएको उनले स्पष्ट पारेका छन् । निर्देशक वसन्त निरौलासँग जितुले यसअघि फिल्म ‘ज्वाइँ साब’मा काम गरिसकेका छन् । लेखक सुशील पौडेलसँग पनि उनको पुरानै चिनजान छ भने प्रस्तुतकर्ता नवीन श्रेष्ठसँग फिल्म ‘लाज शरणम्’को समयदेखि नै सम्बन्ध रहँदै आएको छ ।

नियमित भेटघाट र कुराकानीकै क्रममा ‘पाँच पाण्डव’मा सहकार्य गर्ने वातावरण बनेको जितुको भनाइ छ । पाँच जना पाण्डवको चरित्र आवश्यक पर्ने भएपछि आफू पनि त्यसको हिस्सा बनेको उनी बताउँछन् । वसन्त निरौलाको निर्देशनमा तयार भएको ‘पाँच पाण्डव’ यही कार्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा जितु नेपालसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, दीपाश्री निरौला, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरी मुख्य भूमिकामा छन् ।
यसका अतिरिक्त सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने तथा रितेश पौडेल (रितेशजंग खत्री)को पनि अभिनय रहेको छ । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन् । फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन् । पौडेलका अनुसार ‘पाँच पाण्डव’ विशुद्ध पौराणिक कथा नभई महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गरेर समकालीन नेपाली समाजको कथा भन्ने सोसल ड्रामा हो । फिल्मलाई श्याम तामाङले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीको छ ।
द्वन्द्व निर्देशन सम्राट बस्नेतले गरेका छन् । गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । उत्तम न्यौपानेले साउन्ड डिजाइन, सुजिल कर्माचार्यले ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालले भिएफएक्सको जिम्मेवारी सम्हालेका छन् । प्राविधिक पक्षमा पनि विशेष तयारी गरिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा दर्शकले डल्बी एटमस साउन्डको अनुभव लिन पाउनेछन् । ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्मलाई आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।




















