इटहरी । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रबार भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा सन्दीप जोराले ३४ रन बनाए । कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे । नेपालले लक्ष्य पछ्याउने क्रममा सुरुवातमा केही विकेट गुमाए पनि रोहित र सन्दीपको महत्वपूर्ण योगदानले टोलीलाई जितसम्म पुर्यायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो । अफगानिस्तानका लागि फेसल शिनोजादाले ३३ रन बनाए । नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन जोडे ।
अफगानिस्तानलाई सानो योगफलमा रोक्ने क्रममा नेपालका कुशल भुर्तेलले ४ विकेट लिए । ललित राजवंशीले ३ विकेट हात पारे ।
नेपाल समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँगै रहेको छ । यसअघि बिहीबार भएको खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको थियो ।
नेपालले समूह चरणको दोस्रो खेल शनिबार जापानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने सम्भावना छ ।
यसअघि भएको एसियाली खेलकुदमा पनि नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो ।




















