इटहरी । प्रेमको अर्थ केवल भेट र मिलन मात्र होइन, कहिलेकाहीँ विछोड, त्याग र जीवनभरको प्रतीक्षा पनि प्रेमकै हिस्सा बन्न पुग्छ। यस्तै मानवीय संवेदना र मगर समुदायको मौलिक सांस्कृतिक मान्यतालाई पर्दामा उतार्दै नेपाली चलचित्र ‘जलाकी’ प्रदर्शनको तयारीमा जुटेको छ। आगामी मंसिर ४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने चलचित्रको सार्वजनिक ट्रेलरले दर्शकमाझ उत्सुकता बढाएको छ।

सार्वजनिक ट्रेलरमा प्रेमका फरक–फरक अनुभूति र सम्बन्धका अनेक आयामलाई प्रस्तुत गरिएको छ। कतै प्रेमको सुखद मिलन देखिन्छ भने कतै त्याग, विछोड र अधुरो प्रतीक्षाका दृश्यले भावुक बनाउँछन्। जीवनसाथीसँग बिताएका अविस्मरणीय पलदेखि बाल्यकालका छुटेका सम्बन्ध र संसारबाट बिदा भइसकेका प्रियजनको सम्झनासम्मका विषयलाई चलचित्रले समेटेको संकेत ट्रेलरले गरेको छ।

888258015_1482347083772922_6307214049086455985_n

चलचित्रको नाम ‘जलाकी’ आफैँमा मगर समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको छ। मगर समुदायमा ढुङ्गाबाट निर्माण गरिने जलाकीलाई दिवंगत पुर्खा तथा प्रियजनको सम्झना, आस्था र विश्वाससँग जोडेर हेरिन्छ। मानिसको भौतिक उपस्थिति नरहे पनि उसँग जोडिएका भावना र स्मृतिहरू सधैँ जीवित रहन्छन् भन्ने अर्थ यसले बोकेको छ।

यही सांस्कृतिक प्रतीकलाई आधार बनाएर चलचित्रले प्रेम, सम्झना, त्याग र विछोडको कथालाई अघि बढाएको छ। फिल्मले मगर समुदायको मौलिक संस्कृति र परम्परालाई मनोरञ्जनको माध्यमबाट नयाँ पुस्तामाझ परिचित गराउने प्रयाससमेत गरेको छ।

Aston.jpg

चलचित्रको विशेषता यसको सांस्कृतिक पृष्ठभूमि मात्रै नभई यसले उठाएको साझा मानवीय संवेदना पनि हो। प्रेमी–प्रेमिकाबीचको सम्बन्धभन्दा बाहिर गएर परिवार, आफन्त र जीवनमा विशेष स्थान बनाएका व्यक्तिसँग जोडिएका भावनालाई कथामा समेटिएको देखिन्छ। त्यसैले ‘जलाकी’ कुनै एउटा समुदायको कथामा मात्र सीमित नभई सबैले आफ्नै जीवनसँग जोडेर अनुभूति गर्न सक्ने विषयमा आधारित देखिन्छ।

अशोक थापा मगरको निर्देशनमा बनेको चलचित्रमा उपासना सिंह ठकुरी, सोनाम तोप्देन र शिल्पा मास्केलगायत कलाकारको अभिनय रहेको छ।

मौलिक संस्कृति, प्रेमका विविध रूप र मानवीय सम्बन्धका संवेदनशील पक्षलाई समेटेको ‘जलाकी’ मंसिर ४ गतेदेखि दर्शकमाझ आउँदैछ। चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै आफ्नै जीवनका पुराना सम्झना, अधुरा सम्बन्ध र प्रियजनसँग जोडिएका भावनात्मक क्षणहरू पुनः स्मरण गराउने अपेक्षा गरिएको छ।