इटहरी । तिहारको अवसर पारेर भोलि कार्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै सबै उमेर समूहका दर्शकका लागि प्रदर्शन हुने बाटो खुलेको छ।
प्रदर्शन मिति नजिकिएसँगै चलचित्रको अग्रिम टिकट बुकिङ पनि सुरु भएको छ। विशेषगरी कोशी प्रदेशका प्रमुख सहर इटहरी, बिर्तामोड र विराटचोकका सिनेमा हलहरूले प्रदर्शन समय सार्वजनिक गर्दै टिकट बिक्री खुलाएका छन्।
इटहरीस्थित इलाइट सिनेमा हलमा दिउँसो २:१५ र राति ८:१५ बजेको शो निर्धारण गरिएको छ। त्यसैगरी, क्वीएफएक्स वान स्टप बिर्तामोडमा दिउँसो १:३५ बजे तथा पाथीभरा सिने प्लाजामा बिहान १०:३० र दिउँसो ३:५० बजेको शोका लागि टिकट बुकिङ खुलाइएको छ।
मोरङको विराटचोकस्थित विराट सिने हलले बिहान ८ बजे, दिउँसो १:३५ र ४:०५ बजेका लागि प्रदर्शन समय तय गरेको छ। यस्तै, क्वीएफएक्स सिनेफ्लेक्स इटहरीमा साँझ ५:१५ बजेको शोका लागि अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ। कोशी प्रदेशका अन्य हलसँगै देशका विभिन्न सहरमा पनि बुकिङ खुल्ने क्रम जारी छ।
युनिभर्सल सर्टिफिकेट प्राप्त गरेपछि ‘पाँच पाण्डव’ बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले हेर्न पाउने चलचित्र बनेको छ। निर्माण पक्षले पारिवारिक वातावरणमा बसेर मनोरञ्जन लिन सकिने सामाजिक कथावस्तुमा चलचित्र तयार गरिएको जनाएको छ।
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको ठूलो समूह देख्न सकिनेछ। हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौला मुख्य भूमिकामा छन्। साथै सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)को पनि अभिनय रहेको छ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्मात्री काली रानी श्रेष्ठ हुन्। चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले तयार पारेका छन्। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर वर्तमान नेपाली समाजको कथा प्रस्तुत गरिएको लेखक पौडेलले बताएका छन्।
प्राविधिक पक्षमा पनि चलचित्रले विशेष तयारी गरेको निर्माण पक्षको दाबी छ। श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा गम्भीर विष्ट तथा विक्रम स्वाँरको कोरियोग्राफी छ।
त्यस्तै, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ। चलचित्रलाई थप आकर्षक बनाउन डल्बी एटमस साउन्ड प्रविधिसमेत प्रयोग गरिएको छ।
तिहारको बिदालाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको ‘पाँच पाण्डव’ले पारिवारिक दर्शकको कति साथ पाउँछ भन्ने चासो बढेको छ। चर्चित कलाकारको अभिनय, सामाजिक कथावस्तु र मनोरञ्जनात्मक प्रस्तुतिका कारण चलचित्रले प्रदर्शनको सुरुवातमै दर्शकको ध्यान तान्ने अपेक्षा निर्माण पक्षले गरेको छ।




















