सुनसरी । सम्भावित बाढीजन्य विपद्को सामना गर्न आवश्यक तयारी र उद्धार क्षमतालाई प्रभावकारी बनाउने उद्देश्यले सुनसरीको बराहक्षेत्र नगरपालिका–स्थित श्रीलङ्का टप्पुमा एकीकृत कृत्रिम घटना अभ्यास (SIMEX) सुरु गरिएको छ।
बाढीको उच्च जोखिममा रहेको श्रीलङ्का टप्पुमा सम्भावित बाढीको अवस्थालाई कृत्रिम रूपमा सिर्जना गरी विपद् व्यवस्थापनका विभिन्न गतिविधिको अभ्यास गरिने आयोजकले जनाएको छ। कात्तिक २० गतेसम्म सञ्चालन हुने अभ्यासमा सुनसरी र झापाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी छन्।

अभ्यासका क्रममा बाढी आउनुअघि अपनाउनुपर्ने सावधानीदेखि विपद्का बेला गरिने खोज तथा उद्धार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण र प्रभावितलाई राहत तथा मानवीय सहायता उपलब्ध गराउने प्रक्रियासम्मको अभ्यास गरिनेछ।
त्यसैगरी, सम्भावित जोखिमबारे समुदायलाई समयमै सूचना पुर्याउने, स्थानीय तहबीच समन्वय गर्ने तथा विपद्पछिको अवस्थालाई व्यवस्थित रूपमा व्यवस्थापन गर्ने विषयलाई समेत अभ्यासमा प्राथमिकता दिइएको छ।

बाढीको जोखिममा रहेका समुदायलाई विपद्का बेला कसरी सुरक्षित राख्ने र उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन कसरी गर्ने भन्ने विषयमा सहभागीहरूलाई व्यावहारिक अनुभव प्रदान गर्नु अभ्यासको मुख्य उद्देश्य रहेको छ।
नेपाल सरकार, आयरल्यान्ड सरकार, विश्व खाद्य कार्यक्रम (WFP) र निड्स नेपाल (NEEDS Nepal) को सहकार्यमा सञ्चालित यस अभ्यासले स्थानीय तहको विपद् पूर्वतयारी र प्रतिकार्य प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सुनसरी र झापाका स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायको सहभागितामा भइरहेको अभ्यासले अन्तरपालिका समन्वय बढाउनुका साथै सम्भावित बाढीको समयमा छिटो, व्यवस्थित र प्रभावकारी रूपमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।




















