इटहरी । युवामा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्ने उद्देश्यले इटहरी जेसीजद्वारा आयोजित ‘जेसीज सप्ताह–२०२६’ विभिन्न कार्यक्रमका साथ बुधबार भव्य रूपमा सम्पन्न भएको छ।
इटहरी जेसीजको आयोजनामा ‘Developing Leaders for a Changing World’ भन्ने मूल भावनासहित सञ्चालन भएको सप्ताहको अन्तिम दिन ‘Leaders for Tomorrow & Closing Ceremony’ आयोजना गरिएको थियो। समापन कार्यक्रममा ‘Change. Connect. Lead’विषयमा विशेष प्यानल छलफलसमेत गरिएको थियो।

समापन कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा व्यक्तित्वहरूले युवाको नेतृत्व विकास, उद्यमशीलता, शिक्षा, समसामयिक विषय तथा ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै समाजमा अर्थपूर्ण प्रभाव सिर्जना गर्ने विषयमा आफ्ना धारणा राखेका थिए।
प्यानल छलफलमा एमएम ग्रुप अफ कम्पनीजका म्यानेजिङ डाइरेक्टर सुयेश प्याकुरेलले ‘Entrepreneurial Mindset and Innovation’, पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘Education and Current Affairs’ तथा पञ्चानल विश्वविद्यालयको Faculty of Management का प्रा. डा. सन्देश दास श्रेष्ठले ‘From Knowledge to Leadership: Creating Meaningful Impact’ विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रममा प्रत्येक वक्ताले आफ्नो विषयमा प्रस्तुति दिनुका साथै सहभागीहरूसँग प्रश्नोत्तर तथा प्यानल छलफलसमेत गरेका थिए। यसले युवालाई नेतृत्व, उद्यमशीलता, शिक्षा र ज्ञानलाई व्यवहारिक जीवनसँग जोड्ने विषयमा प्रत्यक्ष संवादको अवसर प्रदान गरेको थियो।

सात दिनमा विविध कार्यक्रम
इटहरी जेसीजले भदौ २५ देखि ३१ गतेसम्म सञ्चालन गरेको जेसीज सप्ताहअन्तर्गत ह्विलचेयर म्याराथनसहित उद्घाटन समारोह, शिक्षा उपहार, ‘भोइस अफ टुमोरो’ वक्तृत्वकला प्रतियोगिता, धार्मिक हाजिरीजवाफ प्रतियोगिता, लेट देवेन्द्र के. श्रेष्ठ मेमोरियल इन्टर जेसीज रनिङ क्विज प्रतियोगिता, स्वास्थ्य शिविर तथा अन्तिम दिन ‘लिडर्स फर टुमोरो एन्ड क्लोजिङ सेरेमनी’ आयोजना गरेको थियो।
सप्ताहअन्तर्गत आयोजित ‘भोइस अफ टुमोरो’ वक्तृत्वकला प्रतियोगितामा सुष्मा गौडावरी कलेज, इटहरी प्रथम, कोशी सेन्ट जेम्स कलेज, इटहरी द्वितीय तथा विश्व आदर्श कलेज, इटहरी तृतीय भएका थिए।
त्यस्तै, धार्मिक हाजिरीजवाफ प्रतियोगिता बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औँसीको अवसरमा वृद्ध चौतारी, इटहरीमा आयोजना गरिएको थियो। कार्यक्रममा ज्येष्ठ नागरिकलाई खिर खुवाउनुका साथै १६ वटा प्रश्नमार्फत हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरी सही उत्तर मिलाउने १६ जनालाई पुरस्कार वितरण गरिएको थियो।
लेट देवेन्द्र के. श्रेष्ठ मेमोरियल इन्टर जेसीज रनिङ क्विज प्रतियोगितामा विभिन्न जेसीज शाखाबीच प्रतिस्पर्धा भएको थियो। उपलब्ध स्कोरअनुसार जेसीआई तरहरा ९३ अंकसहित अग्रस्थानमा रहेको थियो भने जेसीआई विराटनगरले ८० र जेसीआई रमाइलोले ६२ अंक प्राप्त गरेका थिए।

जेसीज सप्ताह–२०२६ सफल बनाउन विभिन्न व्यवसायिक तथा संस्थागत क्षेत्रबाट समेत सहयोग प्राप्त भएको थियो। सप्ताहको मुख्य प्रायोजक (Main Sponsor) जोमाई नेपाल (Zomai Nepal) रहेको थियो।
त्यस्तै, सह–प्रायोजक (Co-sponsor) अरवानी फुड्स (Arvani Foods) रहेको थियो। कार्यक्रममा पावर्ड बाई (Powered by) ४ स्टार म्याट्रेस (4 Star Mattress) तथा इनर्जी पार्टनर (Energy Partner) शक इनर्जी ड्रिंक (Shock Energy Drink) रहेका थिए।

जेसीज सप्ताहका विभिन्न कार्यक्रमले युवाको ज्ञान, नेतृत्व क्षमता, वक्तृत्वकला, प्रतिस्पर्धात्मक भावना, सामाजिक जिम्मेवारी र आपसी सहकार्यलाई जोड दिएको इटहरी जेसीजले जनाएको छ।
इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुली, प्रमुख सह–समन्वयक/EVP जेसी प्रमोद घिमिरे (भान्जा), महासचिव जेसी टंकमणि न्यौपाने (रबिन) तथा समापन कार्यक्रमका को–अर्डिनेटर जेसी प्रज्वल बस्नेत रहेका थिए।
साताव्यापी कार्यक्रममार्फत युवालाई नेतृत्वसँग जोड्दै सकारात्मक परिवर्तनका लागि सक्रिय बनाउने सन्देशसहित इटहरी जेसीजको जेसीज सप्ताह–२०२६ सम्पन्न भएको छ।




















