इटहरी । नेपाली गीतसङ्गीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएकी गायिका लोचन भट्टराई यस वर्ष राष्ट्रिय जागृति क्लबको स्रष्टा सम्मानबाट सम्मानित हुने भएकी छन्। क्लबले कागतिहारको अवसर पारेर आयोजना गर्न लागेको नगरस्तरीय लोकनृत्य तथा स्रष्टा सम्मान कार्यक्रममा भट्टराईलाई सम्मान गर्न लागेको हो।
राष्ट्रिय जागृति क्लबले आगामी कात्तिक २० गते शुक्रबार इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। दिउँसो ४ बजेदेखि सुरु हुने कार्यक्रममा नेपाली गीतसङ्गीतको क्षेत्रमा भट्टराईले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिने क्लबले जनाएको छ।
कार्यक्रममा भट्टराईका लोकप्रिय गीतहरू प्रस्तुत गरेर उनको सांगीतिक यात्रालाई समेत स्मरण गरिनेछ। ‘टाढा टाढा नभई जाऊ तिमी’, ‘भेट भयो आज मनको चाहनाले’, ‘माया गरेको चोखो माया पनि देखियो’, ‘आजको दिन कम छैन रमाइलो छिन’, ‘खोटाङ जिल्ला दिक्तेल बजार’, ‘हे दाजै नसताऊ नारीमा’ र ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ लगायतका चर्चित गीतहरू कार्यक्रममा समेटिने आयोजकले जानकारी दिएको छ।

स्रष्टा सम्मानका अतिरिक्त क्लबले खेलकुद, पत्रकारिता, शिक्षा लगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्व तथा प्रतिभाहरूलाई पनि सम्मान गर्ने कार्यक्रम राखेको छ।
कार्यक्रम संयोजक देवी गौतम रविनका अनुसार स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले क्लबले हरेक वर्ष कागतिहारका दिन यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ।
क्लबका अध्यक्ष केशव कार्कीले खेलकुद गतिविधिसँगै सांस्कृतिक कार्यक्रममार्फत स्थानीय प्रतिभाको पहिचान, प्रोत्साहन र सम्मान गर्ने अभियानलाई निरन्तरता दिइएको बताए। उनका अनुसार यस्ता कार्यक्रमले नयाँ पुस्तालाई कला, संस्कृति र सिर्जनात्मक क्षेत्रमा लाग्न प्रेरित गर्नुका साथै मौलिक सांस्कृतिक पहिचान जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरस्तरीय लोकनृत्य तथा स्रष्टा सम्मान कार्यक्रमले इटहरीको सांस्कृतिक गतिविधिलाई थप सक्रिय बनाउने र स्थानीय प्रतिभालाई एउटै मञ्चमा जोड्ने विश्वास आयोजकले लिएको छ।




















