इटहरी । महाभारतका पाण्डव पात्रलाई आधुनिक समाजको परिवेशसँग जोडेर तयार पारिएको नेपाली फिल्म ‘पाँच पाण्डव’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ। दाजुभाइबीचको प्रेम, आत्मीयता र भाइचारालाई केन्द्रमा राखिएको ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ बोलको गीतले फिल्मको कथावस्तु र पात्रहरूको सम्बन्धलाई झल्काएको छ।
४ मिनेट ५२ सेकेन्ड लामो गीतको भिडियोमा आधुनिक जीवनशैलीमा रमाइरहेका पाँच दाजुभाइको यात्रा र उनीहरूबीचको सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। झापाका सुन्दर दृश्य हुँदै इलामका हरियाली चिया बगानसम्म पुग्ने भिडियोले प्राकृतिक सौन्दर्यसँगै पारिवारिक आत्मीयतालाई पनि समेटेको छ।
गीतको सुरुवातमा अग्रज अभिनेता हरिवंश आचार्यले युधिष्ठिरको भूमिकामा बोलेको संवादले दर्शकको ध्यान खिच्छ। “मेरा भ्राताहरू समस्यै समस्यामा जेलिएका रहेछन्, ज्येष्ठ भ्राता भएको नाताले पनि म पृथ्वी लोकमै फर्किन चाहन्छु इन्द्रदेव,” भन्ने उनको संवादले फिल्मको कथामा दाजुभाइको सम्बन्ध र उनीहरूका समस्याले महत्त्वपूर्ण स्थान पाएको संकेत गर्छ।
गीतको अन्त्यमा भने फिल्मको पौराणिक पक्षलाई उजागर गरिएको छ। आधुनिक पहिरनमा देखिएका पाँचै दाजुभाइलाई महाभारतकालीन पाण्डवको स्वरूपमा प्रस्तुत गरिएको छ। अभिनेत्री इभा गिरी द्रौपदीको भूमिकामा देखिएपछि भिडियोले थप रोचक मोड लिन्छ।
सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर रहेको गीतमा डा. कृष्णहरि बरालले शब्द रचना गरेका छन्। अर्जुन पोखरेलको संगीत तथा किरण कँडेलको संगीत संयोजन रहेको गीतले दाजुभाइबीचको भावनात्मक सम्बन्धलाई संगीत र दृश्यमार्फत अभिव्यक्त गरेको छ।
कालिरानी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन्। नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको लेखन सुशिल पौडेलले गरेका छन् भने कालिरानी श्रेष्ठले लगानी गरेकी छन्।
फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, इभा गिरी, सरिता गिरी, प्रशान्त ताम्राकार र विनोद न्यौपानेसहितका कलाकारको अभिनय रहेको छ। पौराणिक कथाका पात्रलाई समकालीन परिवेशमा प्रस्तुत गर्नु फिल्मको मुख्य विशेषता हो।
प्राविधिक पक्षतर्फ श्याम तामाङले छायांकन, सुप्रिम पराजुलीले सम्पादन तथा कलर र सम्राट बस्नेतले एक्सन निर्देशन गरेका छन्। फिल्मका गीत तथा दृश्यमा गम्भीर बिष्ट र विक्रम स्वारको कोरियोग्राफी रहेको छ भने चुजिल कर्माचार्यले ब्याकग्राउन्ड स्कोर तयार पारेका छन्।
तिहारलाई लक्षित गर्दै फिल्म आगामी कात्तिक २० गतेदेखि आरआर फिल्म प्रोडक्सनमार्फत देशभर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। पहिलो गीत सार्वजनिक भएसँगै ‘पाँच पाण्डव’ले पौराणिक कथालाई पारिवारिक सम्बन्ध र आधुनिक जीवनसँग कसरी जोड्छ भन्ने चासो बढाएको छ।




















