धरान । सुनसरीको धरानस्थित चारकोसे झाडी क्षेत्रमा फोहोर थुपारेर आगो लगाउने गरिएको छ। धरान उपमहानगरपालिकाले उक्त क्षेत्रमा दैनिकजसो फोहोर जम्मा गर्ने र जलाउने गरेको भन्दै यसले वन क्षेत्रको वातावरणमा नकारात्मक असर पार्ने चिन्ता बढेको छ।
फोहोर जलाएपछि चारकोसे झाडी क्षेत्रमा धुवाँ फैलिने गरेको छ। प्लास्टिक तथा अन्य नकुहिने फोहोर जलाउँदा निस्कने धुवाँले वायु प्रदूषण बढाउनुका साथै वनस्पति, वन्यजन्तु र आसपासको पर्यावरणमा समेत असर पार्न सक्छ। वन क्षेत्रमै फोहोर थुपार्ने र जलाउने कार्यले प्राकृतिक वातावरणको संरक्षणमाथि प्रश्न उठाएको छ।
चारकोसे झाडी पूर्वी नेपालको महत्वपूर्ण वन क्षेत्रमध्ये एक हो। यस्तो क्षेत्रमा फोहोरको उचित व्यवस्थापन गर्नुको सट्टा खुला रूपमा जलाउने कार्यले वन तथा वातावरण संरक्षणको प्रयासलाई चुनौती दिन सक्छ। फोहोर व्यवस्थापनका लागि दीर्घकालीन र वातावरणमैत्री उपाय अपनाउनुपर्नेमा वन क्षेत्रमै फोहोर जलाउने अभ्यासप्रति सरोकारवालाको ध्यान जान आवश्यक देखिएको छ।

तस्बिर: रेन याक्थुङ्बा
यस विषयमा वातावरण संरक्षणका लागि जिम्मेवार सरकारी निकाय तथा वन र वातावरणको क्षेत्रमा काम गर्ने सरकारी एवं गैरसरकारी संस्थाहरूको भूमिकामाथि पनि प्रश्न उठेको छ। वातावरण संरक्षणका विषयमा काम गर्ने संस्थाहरूले यस्तो गतिविधिबारे अनुगमन गरी आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।
चारकोसे झाडीमा फोहोर थुपार्ने र जलाउने कार्य रोक्न, फोहोरको उचित वर्गीकरण तथा व्यवस्थापन गर्न र वन क्षेत्रको संरक्षण सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छ। साथै, यस क्षेत्रमा भइरहेको फोहोर व्यवस्थापनको अवस्थाबारे अनुगमन गरी वातावरणमा परेको असरको मूल्याङ्कन गर्नुपर्ने देखिन्छ।




















