इटहरी । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला आगामी चलचित्र ‘पाँच पाण्डव’मा अहिलेसम्मकै फरक भूमिकामा देखिने भएकी छन् । चलचित्रमा उनी अन्यायविरुद्ध आवाज उठाउने र आवश्यक पर्दा भिड्नसमेत पछि नहट्ने साहसी महिलाको चरित्रमा प्रस्तुत हुँदैछिन् ।
चलचित्रमा दीपाश्रीले ‘सितर्नी’ नामकी पात्रको भूमिका निर्वाह गरेकी छन् । उनी भीमकी श्रीमतीका रूपमा देखिनेछिन् भने भीमको भूमिकामा जितु नेपाल छन् । मजदुरमाथि हुने अन्यायविरुद्ध तत्काल प्रतिकार गर्ने स्वभावको पात्र भएकाले आफ्नो भूमिका यसअघिका चरित्रभन्दा निकै फरक रहेको दीपाश्रीले बताएकी छन् ।
उनका अनुसार चलचित्रमा उनको चरित्र केवल घरपरिवारमा सीमित छैन । श्रीमान्को सुरक्षा गर्ने, उनको पक्षमा उभिने र गलत कामविरुद्ध डटेर सामना गर्ने जुझारु महिलाका रूपमा दर्शकले उनलाई देख्न पाउनेछन् ।
आफ्नो प्रवेश दृश्यले दर्शकबाट सिठी, ताली र हुटिङ पाउनेमा दीपाश्री विश्वस्त छिन् । डबिङका क्रममा नै आफ्ना दृश्यहरू निकै प्रभावशाली लागेको बताउँदै उनले ‘सितर्नी’ पात्र दर्शकको सम्झनामा रहने विश्वास व्यक्त गरेकी छन् ।

विशेषगरी ‘सितर्नी’ शब्द नै चलचित्रको चर्चित संवाद बन्न सक्ने उनको अनुमान छ । अरूलाई गाली गर्दा पनि यही शब्द प्रयोग गर्ने भएकाले यो पात्रको बोली र शैली दर्शकको मुखमा झुण्डिने उनको अपेक्षा छ ।
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा दीपाश्री र जितु नेपालसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय रहेको छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले तयार पारेका हुन् । महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजका सामाजिक विषयवस्तु प्रस्तुत गरिएको लेखक पौडेलले बताएका छन् ।

चलचित्रमा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ । दर्शकले चलचित्रमा डल्बी एटमस साउन्डको अनुभवसमेत लिन पाउने निर्माण पक्षले जनाएको छ ।
आरआर फिल्मसले देशव्यापी वितरण गर्ने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।




















